
महाविद्यालयहरूमा पनि बहिनी योजना लागू गरिने घोषणा
अप्रेल 2026 देखि कन्याहरूलाई नि:शुल्क सर्वाइकल क्यान्सरको टिका लगाइने
सोरेङ, 07 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सरकारी उच्चतर माध्यमिक विद्यालय, बुढियाखोपको दश दिवसीय प्लेटिनम जुब्ली समारोहको समापन कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागी बने। मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी शारदा तामाङ पनि उपस्थित थिइन्।
कार्यक्रमको शुरुवात मुख्यमन्त्रीले प्लेटिनम पिलरको उद्घाटन र स्मार्ट स्कूल प्रोग्राम अन्तर्गत डिजिटल क्लाशरुमको उद्घाटनद्वारा गरे। यसपछि, उनी राष्ट्रगीत वन्दे मातरमको 150औं वर्षगॉंठको अवसरमा आयोजित समारोहमा भिडियो कन्फ्रेन्सको माध्यमद्वारा सहभागी बने। उक्त कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नयॉं दिल्लीस्थित इन्दिरा गॉंधी इन्डोर स्टेडियममा आयोजना गरिएको थियो।
प्लेटिनम जुब्ली समारोहको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले सबैलाई प्रधानमन्त्री नरेन्द्र मोदीको भिजन अनुरुप काम गर्न आह्वान गरे। उनले सफल समारोह आयोजनका लागि सम्पूर्ण विद्यालय परिवार र आयोजक समितिलाई बधाई दिए। उनले यसै विद्यालयको स्वर्ण जयन्ती समारोहमा आफू पनि आयोजक समितिका एक सदस्य रहेको कुराको स्मरण गरे। यस विद्यालयका संस्थापकहरूको स्मरण गर्दै उनले उनीहरूका योगदानप्रति गहिरो कृतज्ञता प्रकट गरे।
मुख्यमन्त्रीले शिक्षाको क्षेत्रमा परिवर्तनकारी पहलहरूको भएको बताउॅंदै सरकारले शिक्षालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा चॉंड़ै एउटा-एउटा विश्वविद्यालय निर्माण गर्ने आफ्नो भिजन पनि साझा गरे। उनले स्वदेशी भाषा बोर्ड गठनबारे जानकारी गराउॅंदै यस बोर्डले स्थानीय भाषाहरूको संरक्षण र संवर्धनको लागि काम गर्नेछ भने।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा सरकारले विज्ञान एवं प्रौद्योगिकी विभागको सहयोगमा राज्यमा अलैंची खेतीलाई पुनर्जिवित गर्ने प्रयास गरिरहेको अवगत गराए। आमा योजनामाथि बोल्दै उनले सरकारद्वारा महिलाहरूको पक्षमा सरकारले शुरू गरिएका अन्य योजनाहरूमाथि प्रकाश पारे। यसै क्रममा उनले बहिनी योजना चॉंड़ै महाविद्यालयहरूमा पनि लागू गरिने घोषणा गरे।
स्वास्थ्य क्षेत्रमाथि बोल्दै उनले राज्यका सबै जिल्ला अस्पतालहरू र राज्य अस्पतालहरूलाई उत्कृष्ट चिकित्सा सुविधाहरूले सुसज्जित गरिएको बताए। उनले राज्यवासीहरूलाई यी सुविधाहरूबाट चिकित्साको लाभ उठाउन आह्वान पनि गरे। यस अतिरिक्त, उनले अप्रेल 2026 देखि 14 वर्ष उमेर पुगेका कन्याहरूलाई नि:शुल्क सर्वाइकल क्यान्सरको टिका लगाइने घोषणा गरे। उनले यो टिका राज्यका सबै सरकारी अस्पतालहरूमा उपलब्ध रहने पनि जानकारी गराए। यस अतिरिक्त, उनले 30-65 उमेर पुगेका महिलाहरूलाई स्व-परीक्षण किट प्रदान गर्ने बताए।
कार्यक्रमलाई विधानसभा अध्यक्ष एवं क्षेत्र विधायक एमएन शेर्पाले पनि सम्बोधन गरेका थिए। यस अवसरमा विद्यालयका पूर्व प्रधानाचार्यहरू, सेवानिवृत्त शिक्षकहरू र विद्यार्थीहरूलाई सम्मानित गरियो।
समारोह अन्तर्गत पुरुष खुल्ला फुटबल टुर्नामेन्टको फाइनल पनि सम्पन्न गरियो, जसमा सिङलिङ स्पोर्टिङ क्लबले प्रतिद्वन्दी दल रेड पाण्डा एफसीलाई पराजित गर्दै उपाधि आफ्नो नाम गऱ्यो।
हिन्दुस्थान समाचार / बिशाल