
इस्तानबुल/इस्लामाबाद/काबुल, ०८ नोभेम्बर (हि.स.)। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले शुक्रबार अबेर राति घोषणा गर्दै भने, पाकिस्तान र अफगानिस्तानबीचको वार्ता समाप्त भएको छ। अब अर्को चरण कहिले शुरु हुन्छ भन्ने अनिश्चित छ। वार्ताकारहरू दुवै देशबीच रहेका गहिरा मतभेद हटाउन असफल भए। पाकिस्तान–अफगानिस्तान वार्ताको तेस्रो चरण बिहिबार टर्कीको इस्तानबुलमा शुरु भएको थियो। दुबै पक्षले बन्द ढोकामाझ छलफल गरेका थिए। वार्ताकारहरूले शान्तिका लागि दुवैलाई धेरै बुझाउने प्रयास गरे, तर सहमति हुन सकेन। पाकिस्तानको प्रतिनिधिमण्डल स्वदेश फर्कने तयारीमा छ।
‘डान’ पत्रिकाका अनुसार, रक्षा मन्त्री आसिफले ‘जियो न्यूज’ सँगको अन्तर्वार्तामा भने, “हालका लागि वार्ता समाप्त भइसकेको छ।” यसअघि अधिकारी र स्रोतहरूले बताएका थिए कि वार्ता कुनै ठोस सम्झौताबिना रोकिएको हो। एक वरिष्ठ सुरक्षा स्रोतले संवाददातालाई भने, “इस्तानबुलमा वार्ता गतिरोधमा फँसेको छ।” तेस्रो चरणको वार्ता दुई दिन चल्ने योजना थियो।
आसिफका अनुसार, अफगान तालिबान प्रतिनिधिमण्डल लिखित सम्झौतामा हस्ताक्षर गर्न तयार भएन। उनीहरू केवल मौखिक सहमतिको अडानमा रहे। आसिफले भने, “इस्तानबुलबाट खाली हात फर्किनु दुःखद हो।” उनले स्पष्ट गरे, युद्धविराम हाल कायम छ, तर यदि अफगानिस्तानले उल्लङ्घन गर्यो भने पाकिस्तानले उचित प्रतिक्रिया दिनेछ।
आसिफले दोहोर्याए, पाकिस्तानको मुख्य माग हो, अफगान भूमिबाट हुने आक्रमण रोक्नु। तेस्रो चरणको वार्तामा पाकिस्तानतर्फबाट आईएसआईका महानिर्देशक लेफ्टिनेन्ट जनरल असीम मलिकको नेतृत्वमा वरिष्ठ सैन्य, गुप्तचर तथा विदेश मन्त्रालयका अधिकारीहरू सहभागी थिए। अफगान पक्षको नेतृत्व जनरल डायरेक्टोरेट अफ इन्टेलिजेन्स (जीडीआई) का प्रमुख अब्दुल हक वासेकले गरेका थिए, जसँग सुहैल शाहीन, अनस हक्कानी र उप आन्तरिक मन्त्री रहमतुल्लाह नजीब पनि सहभागी थिए।
यो वार्ता अक्टोबरको शुरुवातमा सीमा क्षेत्रमा भएका झड़पपछि शुरु गरिएको हो। पहिलो र दोस्रो चरणका वार्ता दोहामा भएका थिए। इस्तानबुलको वार्ताको उद्देश्य निगरानी संयन्त्रको रुपरेखा तय गर्नु थियो। रिपोर्टका अनुसार, वार्ता असफल भएपछि पाकिस्तानी टोली विमानस्थलतर्फ फर्किएको छ। शुक्रबार दुबै टोलीबीच प्रत्यक्ष भेटवार्ता भएको थिएन। दुबै पक्षले बिहिबार कतार र टर्कीका मध्यस्थहरूको उपस्थितिमा मात्र आमनेसामने वार्ता गरेका थिए।
पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर हुसैन अन्द्राबीले इस्लामाबादमा सञ्चारकर्मीहरूलाई भने, हाम्रो टोलीले आफ्नो पक्ष प्रमाण र तथ्यसहित राखेको छ। अर्कोतर्फ, अफगान वार्ताकारहरूले दाबी गरे कि उनीहरूको प्रस्ताव पाकिस्तानका लागि तर्कसंगत र सहज रूपमा स्वीकार्य छन्। तर, उनले इस्लामाबादका मागहरूलाई अव्यावहारिक र आक्रामक भनेका छन्, जसले भविष्यमा थप जटिलता निम्त्याउन सक्छ।
अफगानिस्तानको ‘तुलूअ न्यूज’ का अनुसार, वार्ताको पहिलो दिन दुबै पक्षले टर्की र कतारका मध्यस्थहरूसँग आफ्ना मागहरू प्रस्तुत गरेका थिए। स्रोतहरूका अनुसार, पाकिस्तानले तेस्रो चरणमा फेरि पनि यस्ता मागहरू अघि सारे, जसको अफगानिस्तानसँग कुनै प्रत्यक्ष सम्बन्ध छैन। पाकिस्तानका कथित मागहरूमा टीटीपी (तहरीक-ए-तालिबान पाकिस्तान) का सदस्यहरूलाई पाकिस्तानबाट अफगानिस्तान स्थानान्तरण गर्ने विषय पनि थियो। यसको जवाफमा अफगान इस्लामिक अमिरातले माग गरेको छ कि पाकिस्तानले आफ्नो भूमि र हवाई क्षेत्र अन्य देश वा अफगानिस्तानविरुद्ध प्रयोग नगरोस्।
राजनीतिक विश्लेषक अजीज मारेजका अनुसार, यी टिप्पणीहरू विरोधाभासी छन्। टीटीपी वास्तवमा पाकिस्तानको आन्तरिक समस्या हो।
हिन्दुस्थान समाचार / भवानी थामी