
कोलकाता, 13 दिसम्बर (हि.स.)। अन्तरराष्ट्रिय फुटबल लेजेन्ड लियोनेल मेस्सीले शनिवार आफ्नो विशाल मूर्तिको अनावरण गरे। खास कुरा के रह्यो भने मेस्सीले आफ्नो होटलमा रहेर भर्चुअल रूपमा मूर्तिको उद्घाटन गरे। आफ्नो मूर्ति देखेपछि मेस्सी भावुक र खुशी देखिए। बलिवुड अभिनेता शाहरुख खान पनि आफ्ना छोरा अब्राहम खानसँग विशेष मूर्ति अनावरण कार्यक्रममा उपस्थित थिए। मेस्सीको उपस्थिति र शाहरुख खानको आगमनले कार्यक्रमलाई अझ् विशेष बनायो।
मेस्सीको यो विशाल मूर्तिले विश्वव्यापी रूपमा चर्चा चुलिएको छ। विदेशमा रहेका उनका धेरै फ्यान क्लबहरूले मूर्तिको तस्बिरहरू साझा गरेका छन्। प्रख्यात खेल पत्रकार फैब्रिजियो रोमेनोले पनि मूर्तिको तस्बिर साझा गर्दै यसलाई ऐतिहासिक बताएका छन्। मूर्तिको झलक पहिले नै सार्वजनिक भइसकेको भएपनि यस अवसरमा मेस्सीले पहिलो पटक स्वयं आफ्नो मूर्ति देखे।
आफ्नो प्रतिक्रियामा मेस्सीले यो सम्मानको लागि गहिरो कृतज्ञता व्यक्त गरे। उनले भने, यहाँ आउनु उनको निम्ति गर्व र खुशीको कुरा हो। उनले यो क्षणलाई समर्थकहरूसँग बाँड्न विशेष बताउँदै भने, यो शहरमा अर्जेन्टिना फुटबल टोलीप्रति गहिरो भावना र प्रेम छ। मेस्सीले आफ्नो मूर्तिको शिल्प कौशल र भव्यताको पनि खुलेर प्रशंसा गरे।
कार्यक्रममा शाहरुख खानको उपस्थिति पनि चर्चाको विषय बनिरह्यो। शाहरुख खान मेस्सी आउनुभन्दा एक दिनअघि कोलकाता आइपुगेका थिए। उनले सामाजिक सञ्जालमा पहिले नै संकेत गरिसकेका थिए कि यस पटक उनी नाइट राइडर्सको लागि होइन मेस्सीको लागि शहर आउँदैछन् र उनले आफ्नो वाचा पूरा गरे।
मेस्सीको एक झलक हेर्न फ्यानहरूमा उत्साह बढ्दै गयो। रातिदेखि नै विमानस्थल, होटल र स्टेडियम बाहिर फ्यानहरू जम्मा हुन थाले। मेस्सी आउनुभन्दा धेरै अघिदेखि स्टेडियम बाहिर लामो लाइन लागेको थियो, जसले मेस्सीप्रति मानिसहरूको जोश कति हदसम्म छ भन्ने कुरालाई संकेत गर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी