
दार्जिलिङ, 14 दिसम्बर (हि.स.)। दार्जिलिङ हिल असंगठित श्रमिक वेलफेयर एशोसिएशनको प्रथम स्थापना दिवस सम्पन्न भएको छ। कार्यक्रममा जीटीए प्रमुख अनित थापा मुख्य अतिथिका रूपमा उपस्थित थिए।
आफ्नो सम्बोधनमा जीटीए प्रमुख थापाले भने, 'यो संस्था सरकारको श्रम विभाग र हाम्रो पहाडका मजदुर दिदीबहिनी–दाजुभाईबीच एउटा सशक्त पुल हो। दैनिक ज्यालादारी गरेर आफ्नो परिवारको भरणपोषण गर्ने, छोराछोरीलाई शिक्षा र परिवारलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन दिनरात मेहनत गर्ने मजदूरहरूको हितका लागि यो संस्था गठन गरिएको हो।'
उनले अघि भने, 'सरकारले असंगठित श्रमिकहरूको लागि सामाजिक सुरक्षा, बीमा, पेन्सन, स्वास्थ्य, मातृत्व सहायता लगायत थुप्रै योजना सञ्चालन गरेका छन्, तर सही सूचना नपुगेका कारण धेरै श्रमिक अझै पनि ती सुविधाबाट वञ्चित छन्। संस्थाको प्रमुख जिम्मेवारी सरकारद्वारा सञ्चालित श्रमिक–कल्याण कार्यक्रम, जस्तै असंगठित श्रमिकका लागि सामाजिक सुरक्षा योजना, बीमा तथा श्रमिक कल्याण बोर्डका सुविधाहरू गाउँघर सम्म पुर्याउने हो।'
थापाले अझ भने, 'श्रमिक दाजुभाई–दिदीबहिनीलाई दर्ता, कार्ड बनाउने, कागजात बुझाउने, अनलाइन प्लेटफर्ममा नाम दर्ता गराउन सहयोग गर्ने गरी वास्तविक जीवनमै उपयोगी सेवा पुर्याउनु संस्थाको प्रथमिकता हुनुपर्छ। संगठनको पहुँच नगर वा बजारसम्म सीमित नराखी प्रत्येक ग्राम पञ्चायत, गाउँ, बस्तीसम्म विस्तार गरेर तल्लो तहसम्म सेवा पुर्याउनु जरुरी छ। मजदूरको घर–घरमा पुगेर उनीहरूको समस्या सुन्ने, फारम भरिदिने, अस्पताल, कार्यालय, श्रम विभाग आदि जानुपर्दा सघाउने ठोस र स्पर्शनीय सहयोग गर्नु संस्थाको पहिचान हुनुपर्छ।'
अनित थापाले भने, पहाड़मा स्थानीय दक्ष मजदूरको कमी छ। भवन निर्माण, प्लम्बिङ, इलेक्ट्रीकल, मेशिनरी, कृषि वा बगैँचा सम्बन्धी सीप सिकाउने तालिम कार्यक्रम सञ्चालन गर्न सकियो भने यसले मजदूरको आम्दानी र आत्मसम्मान दुवै बढाउँछ। श्रमिकहरूलाई संगठनमार्फत पहाडको विकासमा अगुवा शक्ति बनाउने दृष्टिकोणबाट अघि बढ्नु आवश्यक छ। संस्था चलाउँदा मजदूरबाट विभिन्न नाममा अनावश्यक पैसा बटुल्ने अभ्यासलाई पूर्ण रूपमा त्याग्दै पारदर्शिता, इमानदारिता र विश्वसनीयता कायम राख्नुपर्छ।
हिन्दुस्थान समाचार / हनोक