
भाषा संरक्षण नै सांस्कृतिक पहिचानको संरक्षणको मूल आधार: मुख्यमन्त्री
पाकिम, 14 दिसम्बर (हि.स.)। चासोक तोङ्गनाम पर्व आयोजक समितिद्वारा सरम्सा उद्यान, रानीपूलमा आयोजित राज्यस्तरीय चासोक तोङ्गनाम पर्व २०२५ समारोह आज भव्य रूपमा सम्पन्न भयो। यस समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने उनकी धर्मपत्नी कृष्णा राई विशेष अतिथि थिइन्।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले उपस्थित सबैलाई चासोक तोङ्गनाम पर्व २०२५ को शुभकामना व्यक्त गरे। उनले राज्यका सबै समुदायका पर्वहरूलाई राज्यस्तरमा मनाइँदै आइरहेको उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले राज्यको विविध सांस्कृतिक परम्पराको सम्मान र पहिचानलाई बलियो बनाउने बताए। यस्ता पहलहरूले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक धरोहर बुझ्न, यसको सम्मान अनि संरक्षण गर्न प्रेरित गर्ने पनि उनले बताए।
मुख्यमन्त्रीले चासोक तोङ्गनाम केवल एउटा पर्व मात्र नभई कृतज्ञताको उत्सव भएको बताए। उनले लिम्बू विद्वान तथा सांस्कृतिक सुधारक महात्मा सिरिजङ्गा तेयोङ्ग्सीको योगदानको चर्चा गर्दै सिरिजङ्गाले लिपिको पुनरुत्थान र प्रवर्द्धनमार्फत लिम्बू भाषा तथा सांस्कृतिक पहिचानलाई सुदृढ बनाएको बताए। लिम्बू समुदायले भाषा, साहित्य र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्याएकोमा प्रशंसा गर्दै दैनिक जीवनमा मातृभाषाको प्रयोग गर्न सबै समुदायलाई आग्रह गरे। उनले भाषा संरक्षण नै सांस्कृतिक पहिचानको संरक्षणको मूल आधार भएको पनि बताए।
मुख्यमन्त्रीले सरकारले १२ छुटेका समुदायलाई जनजातिको दर्जा दिलाउन गरिरहेका प्रयासबारे जानकारी गराउॅंदै १९८१ मा सिक्किमका विद्यालयहरूमा कक्षा स्तरमा सीबीएसई पाठ्यक्रमअन्तर्गत लिम्बू भाषालाई पनि मुख्य विषयका रूपमा समावेश गरिएको उपलब्धिलाई महत्वपूर्ण उपलब्धि भएको बताए। राज्य सरकारले हरेक बिहिबार सरकारी कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउन अनिवार्य गरेको “परम्परागत पोशाक कार्यदिवस” पहलको उल्लेख गर्दै यसले सांस्कृतिक, जातीय विविधता तथा परम्परागत धरोहरको संरक्षणलाई प्रवर्द्धन गर्ने उनले बताए।
मुख्यमन्त्रीले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा राज्य सरकारले सञ्चालन गरिरहेका विभिन्न योजनाहरूको बारेमा पनि उपस्थित सबैलाई अवगत गराए।
यसैगरी, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले सबैलाई शुभकामना व्यक्त गर्दै चासोक तोङ्गनाम 15 दिसम्बरलाई राज्य बिदा घोषणा गरेकोमा राज्य सरकारप्रति आभार व्यक्त गरे। उनले यसप्रकारका पर्वहरूले समुदायबीच एकता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताउॅंदै सम्बन्धित संघसंस्थामार्फत लिम्बू समुदायका केही मागहरू सरकारसमक्ष राखे।
यसरी नै सिक्किम विश्वविद्यालयका सहप्राध्यापक बल मुरिङ्लाले चासोक तोङ्गनाम पर्वबारे संक्षिप्त जानकारी राख्दै यो पर्व लिम्बू समुदायले पहिलो बाली आफ्नी आद्यदेवी युमा सम्माङ तथा अन्य देवीदेवताहरूलाई अर्पण गर्ने अवसर भएको बताए। उनका अनुसार, यस पवित्र अवसरमा मानव कल्याण, प्रशस्त बाली र सुख–समृद्धिका लागि प्रार्थना गरिने अनि चासोक तोङ्गनामले लिम्बू समुदायलाई एकताबद्ध गर्दै सामाजिक सम्बन्ध मजबुत बनाउने र सामूहिक पहिचानलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए
कार्यक्रममा (सीएमडीजी) अन्तर्गत चेक वितरण गरिनुका साथै सिरधापे यालाक, हाक्पारे साम्लो (लोकसंगीत), यालाङ (धान नाच) र तमोकाय (खेती नाच) जस्ता परम्परागत सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। साथै, विशिष्ट अतिथिहरूले लिम्बू परम्परागत घर तथा या थम्मा तेनको अवलोकन गर्दै लिम्बू समुदायको समृद्ध सांस्कृतिक विरासतलाई नजिकबाट अवलोकन गरे।
हिन्दुस्थान समाचार / बिशाल