वैरागी काइँलासित नेसाप भवनमा शिष्टाचार भेटघाट कार्यक्रम सम्पन्न
नेसाप


- वैरागी काइँलाले अनुवाद साहित्यको क्षेत्रमा पनि कलम चलाउन दिए जोड

गान्तोक, 16 दिसम्बर (हि.स.)। नेपाली साहित्य परिषद्, सिक्किमले आयामेली साहित्यका एक स्तम्भ वैरागी काइँला (तिलविक्रम नेम्बाङ) सित १६ दिसम्बर, २०२५ का दिन परिषद्कै निज भवनमा शिष्टाचार भेटघाटको कार्यक्रम आयोजन गर्‍यो।

यस भेटघाटको कार्यक्रममा सर्वप्रथम परिषद्का महासचिव नीलम न्यौपानेले स्वागत वक्तव्य राखेपछि वरिष्ठ साहित्यकार वैरागी काइँलालाई परिषद्को तर्फबाट कार्यवाहक अध्यक्ष नीवन लामीछानेले फूलगुच्छा र खदा अर्पण गर्दै भव्य स्वागत जनाए।

यस कार्यक्रममा साहित्यकार वैरागी काइँलाले आफ्नो मन्तव्यको क्रममा यस्तो भेटघाटको कार्यक्रमले दुवै देशको साहित्यिक गतिविधिबारे जानकारी पाउन सकिने कुरा राखे। यसरी नै उनले लेखकहरूले जसोतसो पुस्तकहरू प्रकाशन गरे तापनि पाठक र बिक्रीको समस्या रहेकोमा दुःख प्रकट गरे। उनले अनुवाद साहित्यको क्षेत्रमा पनि कलम चलाएर हाम्रो साहित्यको फाँटलाई अझ विस्तार गर्नुपर्ने कुरामाथि जोड दिए।

यस शिष्टाचार भेटघाटमा उनले उपस्थित साहित्यकारहरूबाट सिक्किमेली साहित्यको वर्तमान अवस्थाबारे जानकारी लिए भने वर्ष २००२ मा आफूले परिषद् भवनको अवलोकन गरेको बताए।

यस सम्पूर्ण भेटघाट कार्यक्रमको संयोजन परिषद्का कोषाध्यक्ष जीएस सुब्बाले गरेको जानकारी परिषद्का प्रचार सचिव जोसेफ लेप्चाले प्रेस विज्ञप्तिमा दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande