जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो
जोरथाङमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो


राज्य सरकार र प्रशासन सबै समुदाय र नागरिकहरूलाई सहयोग गर्न प्रतिबद्ध: मुख्यमन्त्री

नाम्ची, 16 दिसम्बर (हि.स.)। युनाइटेड क्रिश्चियन वर्कर्स सोशल सोसाइटी, अल सिक्किम क्रिश्चियन अर्गनाइजेशन र अल चर्चेस् अफ् सिक्किमको संयुक्त तत्वावधानमा आज जोरथाङ खेल मैदानमा राज्यस्तरीय प्री-क्रिसमस समारोह आयोजन गरियो। समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङका रूपमा उपस्थित थिए।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा कार्यक्रमको सफल समन्वय र सुचारु सञ्चालनको लागि आयोजक समितिलाई बधाई दिए। उनले अतिथि वक्ता डा. आचार्य विकास मास्सेलाई राज्यमा हार्दिक स्वागत गर्दै समाजको कल्याण र उत्थानमा उनको योगदानको सराहना गरे।

उनले राजनीति, समाज सेवा, शिक्षा, विज्ञान र सङ्गीत जस्ता क्षेत्रमा क्रिश्चियन समुदायको महत्वपूर्ण योगदानमाथि प्रकाश पार्दै राज्यमा शान्ति र सुव्यवस्था कायम राख्न निरन्तर सामूहिक प्रयासको महत्त्वमा जोड दिए। उनले सिक्किमलाई परिभाषित गर्ने परम्परा र सांस्कृतिक धरोहरहरूको संरक्षित र सुरक्षित गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

मुख्यमन्त्रीले सबैलाई प्रेम, शान्ति र एकताको शिक्षा पालना गर्न र मानवताको नि:स्वार्थ सेवामा यी मूल्यमान्यताहरू लागू गर्न आग्रह गरे। उनले राज्य सरकार र प्रशासन सबै समुदाय र नागरिकहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्‍याउॅंदै समुदायका प्रतिनिधिहरूले राखेका मागहरूलाई निकट भविष्यमा सम्बोधन गरिने आश्वासन दिए।

कार्यक्रममा आयोजक समितिहरूको तर्फबाट मुख्यमन्त्रीलाई सम्मानित गरियो। मुख्यमन्त्रीले पनि विभिन्न चर्चका वरिष्ठ पास्टरहरू र चर्चित क्रिश्चियन गायक एलबी बराइलीलाई सम्मानित गरे। अतिथि वक्ता डा. मास्सेलाई पनि मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरियो।

समारोहमा आगामी प्री-क्रिसमस उत्सवको झण्डा र 10 लाख रूपियॉंको चेक गेजिङ जिल्ला समारोह समितिलाई 2026 का लागि औपचारिक रूपमा हस्तान्तरण गरियो। यस अघि, मुख्यमन्त्री विवेकाधीन अनुदान योजना अन्तर्गत राज्यका विभिन्न चर्चहरूलाई पूर्वाधार विकास परियोजनाहरूका लागि अनुदान वितरण गरिएको थियो।

समारोहमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई, मन्त्रीगण, विधायकगण, जिल्ला अध्यक्ष र उपाध्यक्षहरू, पञ्चायत प्रतिनिधिहरू, वि​भागीय अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande