
नयाँ दिल्ली, १७ दिसम्बर (हि.स.)। नेशनल हेराल्ड धनशोधन मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको चार्जशीटमाथि संज्ञान लिन दिल्लीको अदालतले अस्वीकार गरेपछि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले यसलाई न्याय र सत्यको जित बताएका छन्।
बुधबार दिल्लीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा खरगेले अदालतको फैसलालाई स्वागत गर्दै भाजपा सरकारमाथि केन्द्रिय एजेन्सीहरूको दुरुपयोग गरेको आरोप लगाए। उनले नेशनल हेराल्ड केस पूर्ण रूपमा राजनीतिक प्रतिशोध र द्वेषको भावनाबाट गढिएको झुटो मुद्दा बताउँदै यसको उद्देश्य कांग्रेस नेताहरू, विशेषगरी गांधी परिवारलाई दुःख दिनु रहेको बताए।
खरगेले नेशनल हेराल्डको स्थापना सन् १९३८ मा स्वतन्त्रता सेनानीहरूले गरेको स्मरण गराउँदै भाजपा सरकारले सीबीआई र ईडीजस्ता संवैधानिक संस्थाहरूको प्रयोग गरी यसलाई मनी लन्ड्रिङजस्ता गम्भीर आरोपसँग जोडेर बदनाम गर्न खोजेको आरोप लगाए।
कांग्रेस अध्यक्षले भने, यो पूरा मुद्दा केवल राजनीतिक फाइदाका लागि गरिएको हो। नेशनल हेराल्ड केसमा कुनै पनि सत्यता छैन। त्यसो हुँदाहुँदै पनि वर्षौँसम्म कांग्रेस नेताहरूलाई सोधपुछ र कारबाहीको नाममा प्रताडित गरियो।
यस अवसरमा वरिष्ठ अधिवक्ता तथा कांग्रेस नेता अभिषेक मनु सिंघवीले नेशनल हेराल्डको मुद्दा द्वेषबाट प्रेरित मात्र नभई कानुनी रूपमा पनि अत्यन्त कमजोर र लापरवाहीले भरिएको बताए। सन् २०१४ मा सुब्रमण्यम स्वामीको एक निजी उजुरीबाट यो मुद्दा शुरु भएको र २०१४ देखि २०२१ सम्म सीबीआई र ईडीले आफ्ना फाइलहरूमा लिखित रूपमा यसमा कुनै ‘प्रेडिकेट अफेन्स’ नबन्ने स्वीकार गरेको उनले बताए। यही कारण सात वर्षसम्म कुनै एफआईआर दर्ता गरिएको थिएन।
सिंघवीका अनुसार, त्यसका बाबजुद पनि जून २०२१ मा अचानक ईसीआईआर दर्ता गरियो, जसले यो निर्णय राजनीतिक दबाउमा लिइएको स्पष्ट देखाउँछ। सन् २०२१ देखि २०२५ सम्म सोनिया गांधी, राहुल गांधी, मल्लिकार्जुन खरगेसहित धेरै कांग्रेस नेताहरूसँग करिब ९० घण्टा सोधपुछ गरियो। धेरै सम्पत्तिहरू अट्याच गरिए, खाताहरू फ्रीज गरिए र यहाँसम्म कि भाडाबाट आउने आम्दानीसमेत रोकियो, तर अन्ततः अदालतले स्पष्ट रूपमा भन्यो कि धनशोधनका लागि आवश्यक प्रेडिकेट अफेन्स नै अस्तित्वमा छैन।
सिंघवीले अदालतको यो आदेश एजेन्सीहरूको दुरुपयोगको सबैभन्दा ठूलो प्रमाण भएको बताए। आपराधिक कानून कुनै प्रेस विज्ञप्ति होइन, जसलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न सकियोस्। यस मुद्दामा एक पैसा यति–उता भएको छैन, न त कुनै सम्पत्तिको स्वामित्व परिवर्तन भएको छ। एजेएल आज पनि आफ्ना सबै अचल सम्पत्तिहरूको मालिक छ र यङ इन्डियन एक नन–प्राफिट कम्पनी हो, जहाँ कुनै पनि प्रकारको व्यक्तिगत लाभ, तलब वा नाफा लिने व्यवस्था छैन।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी