
खरसाङ, 18 दिसम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङ तीनमा पर्ने कर्मठ बस्तीका वासिन्दा तथा कृषक विजय राईको बारीमा गत केही दिनदेखि दुर्लभ प्रजातिका पंक्षी धनेष नियमित आउने गरेकाले अहिले यो बस्ती र क्षेत्र नै पर्यटन स्थलमा परिणत बनेको छ। स्थानीय कृषक विजय राईको बारीमा फलेको पङ्खाको दाना खान यी दुर्लभ प्रजातिका धनेष चरा नियमित रूपमा आउन थालेका छन्।
गत वर्षसम्म उक्त फल पङ्खा 5 रुपियाँको दरले बिक्री गरिएको, तर यसपटक धनेष चराको आगमनले सो पङ्खाको दाना बिक्री नगर्ने चराचुरुङ्गी संरक्षणक पथप्रदर्शक (बर्ड गाइड) हरूले अनुरोध गरेका छन्। यस्ता दुर्लभ पङ्क्षीहरूको प्राकृतिक आहार जोगाउन सकिए अझ धेरै पङ्क्षीहरू देख्न सकिने उनीहरू बताउॅंछन्।
अर्कातिर, राईले बाहिरबाट आउने दैनिक 20 जना भन्दा बढी फोटोग्राफरहरूबाट प्रति फोटोग्राफर 200 रुपियाँ उठाइरहेका छन्। धनेश चराको आगमनसँगै ग्रामीण पर्यटनको पनि विकास भएको, स्थानीय होमस्टेहरू सञ्चालनमा आउन थालेको र सवारी साधनको चलाचल बढेपछि स्थानीय युवाहरूका लागि रोजगारीको अवसर पनि सिर्जना भएको उनको भनाइ छ।
आज मुम्बई, पूणे, हरियाणा र बङ्गालका विभिन्न स्थानबाट आएका 20 भन्दा बढी फोटोग्राफरहरूले धनेश चराको तस्बिर खिँच्दै यस क्षेत्रको जैविक विविधता र प्राकृतिक सौन्दर्यको प्रशंसा गरे। स्थानीय गाउँवासीको प्रयास र दुर्लभ चरा धनेषको आगमनले मात्र पनि यदि यो क्षेत्र पर्यटनको क्षेत्रमा अगाडि बढ्न सक्छ भने जीटीए र राज्य सरकारबाट उचित पहल भए पहाडका धेरै ठाउॅंहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीयहरू बताउॅंछन्।
हिन्दुस्थान समाचार / हनोक