विविध गतिविधिहरूसॅंगै माम्ले सरकारी जुनियर हाई स्कूलको स्वर्ण जयन्ती समारोह आयोजित
Annual function


नाम्ची, 18 दिसम्बर (हि.स.)‌। नाम्ची जिल्लास्थित सरकारी जुनियर हाई स्कूल, माम्लेको स्वर्ण जयन्ती समारोह लगायत वार्षिक उत्सवसँगै अन्तर जीपीयु‌ स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल विद्यालय परिसरमा उत्साहपूर्ण वातावरण र समुदायको सक्रिय सहभागितासहित भव्य रूपमा आयोजना गरियो। कार्यक्रम विद्यालय, विद्यालयका पूर्व विद्यार्थी संघ तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त आयोजनामा गरिएको थियो, जसमा शिक्षक–शिक्षिका, विद्यार्थी, युवा, स्थानीय क्लब, सामाजिक संघ-संस्था, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोकलोक–कामराङ निर्वाचन क्षेत्रका एसकेएम सीएलसी युवा संयोजक नगेन तामाङले स्वर्ण जयन्ती समारोहको औपचारिक उद्घाटन गरे। विशिष्ट अतिथिका रूपमा माम्ले–कमराङका जिल्ला पञ्चायत सदस्य मिलन मङ्गर उपस्थित थिए। अन्य अतिथिहरूमा सीएलसी‌ उपाध्यक्ष प्रेम छेत्री, पूर्व जिल्ला पञ्चायत सदस्य रबिन्द्र राई, पञ्चायत अध्यक्ष कृष्ण कुमार मङ्गर, कमराङ जीपीयुका सहायक निर्देशक कुमार थापा, माम्ले जीपीयुका सहायक निर्देशक तथा पञ्चायत सदस्यहरू, मुख्यमन्त्रीका समन्वयकर्ता नवीन किशोर छेत्री, सामुदायिक स्वास्थ्य अधिकृत मनिषा प्रधान तथा माम्ले स्वास्थ्य तथा कल्याण केन्द्रका कर्मचारीहरू उपस्थित थिए।

कार्यक्रमका क्रममा जिल्ला पञ्चायत सदस्य मिलन मङ्गरले विद्यालय मञ्च निर्माणका लागि सहयोग प्रदान गर्ने घोषणा गरे भने प्रमुख अतिथि नगेन तामाङले मञ्चका लागि छाना सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाए। स्वर्ण जयन्ती समारोहका उद्देश्यबारे पञ्चायत अध्यक्ष कृष्ण कुमार मङ्गरले प्रकाश पारे भने विद्यालयका सल्लाहकार सीबी मङ्गरले सन् १९७५ मा विद्यालय स्थापना गर्ने संस्थापक तथा शिक्षकहरूको योगदान स्मरण गरे।

वार्षिक उत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रम तथा गीत प्रस्तुत गरेका थिए। यस अवसरमा प्राथमिक तहकी शिक्षिका सीता छेत्रीलाई बिदाइ सम्मान प्रदान गरिएको थियो। साथै हिमालयन फ्री चर्च, माम्ले, ज्योति क्लब, तल्लो माम्ले तथा रियुनियन क्लब, माथिल्लो माम्ले जस्ता सामाजिक संघसंस्थाहरूलाई विद्यालयप्रति पुर्‍याएको निरन्तर सहयोगको कदरस्वरूप सम्मान गरियो।

कार्यक्रममा विन्द्या मङ्गर र सेवन राईलाई प्रगतिशील विद्यार्थीका रूपमा सम्मान गरियो भने जोसेफ राईलाई शतप्रतिशत हाजिरीका लागि पुरस्कार प्रदान गरियो। यसै क्रममा याङ्तान्ला भोटियालाई उत्कृष्ट सर्वाङ्गीण विद्यार्थी घोषित गरियो। कक्षा एकदेखि तीनसम्मकी काव्या मङ्गर, कक्षा चारदेखि पाँचसम्मकी गिन्सारा मङ्गर तथा कक्षा छदेखि आठसम्मकी छिरिङ भोटियालाई दुई हजार रुपियाँ नगद पुरस्कारसहित सम्मान गरियो। यस अतिरिक्त, कक्षागत, शैक्षिक उपलब्धि, शिक्षक गतिविधि तथा सह पाठ्यक्रमगत क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरियो।

कार्यक्रमको मुख्य आकर्षण माथिल्लो माम्ले र तल्लो माम्ले वार्डबीच सम्पन्न फाइनल फुटबल खेल थियो, जसमा माथिल्लो माम्लेले ३–० को स्पष्ट जित हात पार्‍यो। विजेता टोलीले बाह्र हजार पाँच सय रुपियाँ तथा उपविजेता टोलीले नौ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे। उक्त पुरस्कार प्रमुख अतिथि नगेन तामाङ, पूर्व जिल्ला पञ्चायत सदस्य रबिन्द्र राई तथा पञ्चायत अध्यक्ष कृष्ण कुमार मङ्गरद्वारा संयुक्त रूपमा प्रायोजन गरियो। माथिल्लो माम्लेका आमोस मङ्गर ‘म्यान अफ द म्याच’ घोषित भए भने राजेश मङ्गर उत्कृष्ट गोलरक्षक घोषित भए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande