
दार्जिलिङ, 18 दिसम्बर (हि.स.)। 313 जना शिक्षकहरूको नियुक्तिलाई रद्द गर्ने निर्देश पश्चात गोर्खाल्याण्ड प्रादेशिक प्रशासन (जीटीए) अधिनस्थ सबै स्कूलहरूमा अनिश्चितकालीन बन्द डाकिएको छ। यस हिमाली क्षेत्रको संयुक्त माध्यमिक शिक्षक संगठनले बिहीवार यस बन्दको घोषणा गरेको छ। संगठनका महासचिव सन्तोष खड़काले बताए, यदि स्कूलहरूमा वार्षिक परीक्षा भइरहेको छ वा परिणाम घोषित हुने तिथि तय भएको छ भने त्यसलाई पनि स्थगित राखिनेछ।
यता जीटीए प्रमुख अनित थापाले भने, कसैलाई पनि निराश हुन दिइनेछैन। यी शिक्षकहरूलाई न्याय दिलाउनका लागि जहाँ जानुपर्छ जानेछु।
उल्लेखनीय छ, बितेको बुधवार कलकत्ता उच्च अदालतले शिक्षकहरूको नोकरीलाई रद्द गरेको फसेलाको समाचार पहाड़मा पुग्नसाथ विभिन्न क्षेत्रबाट तीव्र प्रतिक्रियाहरू आइरहेका छन्। यसबीच दार्जिलिङ र कालेबुङमा जीटीए अधिनस्थ सबै सरकारी स्कूलहरूमा अनिश्चितकालीन बन्द डाकिने आह्वान संयुक्त माध्यमिक शिक्षक संगठनद्वारा गरिएको छ। यस सिलसिलामा दार्जिलिङमा बिहीवार एउटा ऱ्याली पनि निकालियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा