
दार्जिलिङ, 20 दिसम्बर (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) ले आगामी 23 दिसम्बरको दिन आफ्नो स्थापना दिवस पालन गर्ने भएको छ।
आईजीजेएफ केन्द्रिय कार्यकारिणी सदस्य एनबी खवासले भने, पार्टीले आफ्नो पहिलो स्थापना दिवस गत वर्ष 22 दिसम्बरमा पालन गरेको थियो। दोस्रो स्थापना दिवस पनि 22 दिसम्बरकै दिन पालन गर्ने तय गरिएको, तर पार्टीको केन्द्रिय संयोजक अजय एडवर्ड्सको जलपाइगढी सर्किट बेन्चमा सुनवाई प्रस्तावित छ। त्यस दिन उनी व्यक्तिगत रूपमा न्यायालयमा उपस्थित हुनुपर्ने भएकाले पार्टीले 23 दिसम्बर, 2025 मा स्थापना दिवस पालन गर्ने निर्णय लिएको छ।
उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, हामीले पार्टीको स्थापना दिवस खुल्ला मैदानमा वृहत रूपमा पालन गर्ने सोच बनाएका थियौं। तर, गत दिन 4 अक्टोबर 2025 को दिन आएको प्राकृतिक आपदाले धेरै जनधनको नोक्सान भएको छ। यसको पीडा आजसम्म पहाडवासीहरूले भूल्न सकेका छैनन्। यी सबै विषयहरूलाई ध्यानमा राख्दै शहरको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा बिहान 11 बजी सामान्य रूपमा स्थापना दिवस पालन गरिने छ।
उनले पहाडका गाडी चालकहरूका समस्यालाई विशेष ध्यानमा राख्दै शहरको मोटर स्टयाण्डमा स्थापना दिवस समारोहको आयोजन नगर्ने निर्णय लिएको पनि अवगत गराए।
हिन्दुस्थान समाचार / हनोक