
गान्तोक, 20 दिसम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सिक्किम लोक सेवा आयोग (एसपीएससी) ले आयोजना गरेको पुलिस उप-निरीक्षक (एसआई) को भर्तीलाई लिएर उत्पन्न भएको विवादपछि भारतको नियन्त्रक र महालेखा परीक्षक (सीएजी) ले स्टेट ब्याङ्क अफ सिक्किम (एसबीएस) मा सहायक प्रबन्धकको भर्तीमा गम्भीर अनियमितताहरू औंल्याएको बताएको छ। सीएजीले भर्ती प्रक्रियामा धोखाधडी र पक्षपातप्रति चिन्ता व्यक्त गरेको छ भन्दै एसडीएफले परीक्षामा सहभागी भएका सिक्किमका हजारौं योग्य युवाहरूमाथि पनि ठूलो अन्याय भएको बताएको छ। एसकेएम सरकारले राज्यका युवाहरूलाई बारम्बार असफल बनाएको छ र यो एसबीएसको मामिलाले एसकेएम शासनलाई भाई-भतीजावादको सरकारको रूपमा थप स्थापित गरेको एसडीएफले आरोप लगाएको छ।
एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, २०२३ को अन्त्य अवधिको सीएजी लेखापरीक्षण अनुसार, २६ सहायक प्रबन्धकहरूको भर्तीमा गम्भीर त्रुटिहरू प्रकाशमा आएका छन्, जसले सम्पूर्ण भर्ती प्रक्रियामा गहिरो धोखाधडी भएको पुष्टि गर्दछ। सीएजीले लिखित परीक्षामा २६–४२ अंकसम्म कम प्राप्त गर्ने उम्मेदवारहरूलाई छनोट गरिएको, जबकि एउटै श्रेणी अन्तर्गत ५५ देखि १२८ अंक प्राप्त गर्ने धेरै उम्मेदवारहरूलाई अन्तर्वार्ताको लागि पनि नबोलाइएको पाएको छ।
एसडीएफले अझ भनेको छ, एसबीएसले अनिवार्य ७८-१०४ उम्मेदवारहरूको सट्टा अन्तर्वार्ताको लागि केवल ६९ उम्मेदवारहरूलाई बोलाएर आफ्नै भर्ती मापदण्डहरू उल्लङ्घन गरेको सीएजीले जनाएको छ। उच्च स्कोर गर्ने उम्मेदवारहरूलाई कुनै औचित्य बिना अदेखा गरियो, रोस्टर प्रणालीको पनि उल्लङ्घन गरियो र पाँच आरक्षित वर्गहरूको लागि रिक्त पदहरू पनि अन्य वर्गका उम्मेदवारहरूद्वारा भरिएको सीएजीले उजागर गरेको एसडीएफले दाबी गरेको छ।
एसआई भर्ती विवादपछि एसबीएस भर्ती घोटालाको खुलासाले एसकेएम सरकारमा नातावाद र अनुचित भर्ती अभ्यासहरूको एक विचलित ढाँचालाई थप उजागर गरेको एसडीएफले बताएको छ। एसडीएफले एसबीएस भर्ती अनियमितताको कडा निन्दा गर्दै एसबीएसका एमडी र अध्यक्ष लगायत जिम्मेवार अधिकारीहरूको राजीनामाको माग गरेको छ। यसैगरी, यस सम्बन्धमा स्वतन्त्र जॉंच गरिनु पर्ने र भर्ती प्रक्रिया रद्द गरेर नयाँ, पारदर्शी र योग्यतामा आधारित छनोट प्रक्रिया सञ्चालन गरिने माग पनि गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल