दिल्लीस्थित बंगलादेश उच्चायोग अगाडि भएको प्रदर्शनबारे फैलिएको दुष्प्रचारमा भारतको चेताउनी
दिल्लीस्थित बंगलादेश उच्चायोग अगाडि भएको प्रदर्शनबारे फैलिएको दुष्प्रचारमा भारतको चेताउनी


नयाँ दिल्ली, २१ दिसम्बर (हि.स.)। दिल्लीस्थित बंगलादेश उच्चायोग अगाडि हिजो भएको प्रदर्शनलाई लिएर भइरहेको दुष्प्रचारबारे भारतको विदेश मन्त्रालयले आइतबार उक्त शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा कुनै पनि सुरक्षा उल्लङ्घन नभएको स्पष्ट गरेको छ। साथै, छिमेकी देशलाई ऐना देखाउँदै भारतले बंगलादेशमा अल्पसंख्यकहरूमाथि भएका आक्रमणहरू र एक हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जायसवालले सञ्चारमाध्यमका प्रश्नहरूको उत्तर दिँदै बंगलादेशका केही सञ्चारमाध्यमहरूले हिजोको घटनाबारे भ्रामक प्रचार गरिरहेको बताए। उनले भारतले भियना कन्भेन्सनअनुसार आफ्नो क्षेत्रमा अवस्थित विदेशी मिसन तथा कार्यालयहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पुनः दोहोर्‍याए।

उनले भने, वास्तविकता के हो भने २० देखि २५ जना युवाहरू बंगलादेशको मयमनसिंहमा दीपु चन्द्र दासको निर्मम हत्याको विरोधमा जमा भएका थिए। प्रदर्शनकारीहरूले बंगलादेशमा अल्पसंख्यकहरूको सुरक्षाको माग गरेका थिए। प्रदर्शनका क्रममा कुनै पनि बार तोड्ने वा सुरक्षा संकट उत्पन्न गर्ने प्रयास गरिएको थिएन। घटनास्थलमा तैनाथ पुलिसले केही मिनेटमै समूहलाई तितर–बितर गरिदिएको थियो। यस सम्पूर्ण घटनासँग सम्बन्धित दृश्य प्रमाणहरू सार्वजनिक रूपमा उपलब्ध छन्।

प्रवक्ताले भने, भारत बंगलादेशमा विकसित हुँदै गएको अवस्थामाथि नजिकबाट निगरानी राखिरहेको छ। भारतीय अधिकारीहरू बंगलादेशी अधिकारीहरूसँग सम्पर्कमा छन् र अल्पसंख्यकमाथि भइरहेका आक्रमणप्रति आफ्नो गहिरो चिन्ता उनीहरूसँग साझा गरिसकेका छन्। साथै, दीपु चन्द्र दासको हत्याका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरिएको छ।

उल्लेखनीय छ, बंगलादेशमा मोहम्मद युनुसको सरकार गठन भएयता अल्पसंख्यकहरूको सुरक्षालाई लिएर निरन्तर प्रश्न उठ्दै आएका छन्। हालै उस्मान हादीको मृत्युपछि देशका अल्पसंख्यक समुदाय फेरि कट्टरपन्थीहरूको निशानामा परेका छन्। यही क्रममा बंगलादेशको मयमनसिंहमा एक हिंस्रक भीडले दीपु चन्द्र दासलाई कुटेरै हत्या गरेको थियो।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande