
कोलकाता, २१ दिसम्बर (हि.स.)।
राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को कोलकातामा आयोजित व्याख्यानमाला ‘संघ यात्राका १०० वर्ष– नयाँ क्षितिज’ का क्रममा सरसंघचालक डा. मोहन भागवतले समाजका विभिन्न विशिष्ट वर्गबाट आमन्त्रित अतिथिहरूले सोधेका प्रश्नहरूको उत्तर दिँदै संघको वैचारिक दिशा, सामाजिक दृष्टिकोण र भविष्यका प्राथमिकताहरू स्पष्ट रूपमा प्रस्तुत गरे। युवाको भूमिका, संस्कृति, शिक्षा, स्वास्थ्य, कूटनीति, सुरक्षा, हिन्दुत्व र सामाजिक समरसताजस्ता विषयमा उनका उत्तरहरूमा संघको मूल सोच प्रष्ट देखिए।
युवासँग सम्बन्धित प्रश्नमा सरसंघचालकले भने, आजको पुस्ता सामाजिक सञ्जाल, लागूपदार्थ र दिशाहीनताका प्रभावमा पर्दै गएको छ, जसका कारण अपराध र सामाजिक विघटन बढिरहेको छ। संघको धारणा अनुसार युवालाई केवल रोजगारीसँग होइन, चरित्र, अनुशासन र राष्ट्रबोधसँग जोड्नु आवश्यक छ। जब युवाले आफ्नो जीवनलाई व्यक्तिगत फाइदामा मात्र सीमित नराखी समाज र देशप्रतिको उत्तरदायित्व बुझ्छन्, तब मात्र उनीहरू सशक्त नागरिक बन्छन्। विदेश पलायनबारे उनले भने, यदि देशमै अर्थपूर्ण अवसर र सम्मानजनक कार्यसंस्कृति निर्माण भयो भने प्रतिभा स्वाभाविक रूपमा देशसँगै रहनेछ।
भारतीय शास्त्रीय संगीत, कला र संस्कृतिबारेको प्रश्नमा डा. भागवतले परम्परागत कलाहरू केवल मनोरञ्जनका साधन मात्र नभई समाजको आत्मा रहेको बताए। संघको प्रयास कलाकारलाई सम्मान दिलाउने र युवामा भारतीय कलाप्रति गर्वको भावना विकास गर्ने रहेको उनले स्पष्ट पारे। यसका लागि समाज, शैक्षिक संस्था र सांस्कृतिक मञ्चबीच आपसी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
हिन्दुत्वसम्बन्धी प्रश्नको उत्तरमा उनले हिन्दुत्व कुनै संकीर्ण धार्मिक पहिचान नभई जीवनपद्धति भएको स्पष्ट गरे। भारतको नैतिक, सामाजिक र बौद्धिक चेतनाको आधार हिन्दू स्वभाव रहेको उल्लेख गर्दै विविधतालाई स्वीकार गर्नु र सबैलाई साथमा लिएर अघि बढ्नु नै यसको विशेषता रहेको बताए। युवालाई उपदेशभन्दा पनि आचरण र उदाहरणमार्फत हिन्दुत्वसँग जोड्न सकिने उनले बताए।
नगरीय अव्यवस्था, स्टेशन र सार्वजनिक स्थलमा हुने अवैध कब्जाबारे उनले भने, यो समस्या केवल प्रशासनको मात्र नभई समाजको पनि जिम्मेवारी हो। नागरिकमा स्वच्छता, अनुशासन र सार्वजनिक सम्पत्तिप्रति अपनत्वको भावना जागृत भए मात्र स्थायी समाधान सम्भव हुने बताए।
शिक्षा र संस्कृत भाषासम्बन्धी प्रश्नमा सरसंघचालकले भारतीय ज्ञान परम्परालाई आधुनिक शिक्षासँग जोड्नु समयको माग भएको बताए। विज्ञान र अध्यात्मलाई अलग होइन, पूरकका रूपमा स्वीकार गर्दै पाठ्यक्रम विकास गर्नुपर्नेमा उनले जोड दिए, जसले आत्मविश्वासी र मूल्यनिष्ठ पुस्ता तयार गर्नेछ।
कृत्रिम बुद्धिमत्ता, प्रविधि र उद्यमशीलताबारे उनले भविष्यको तयारी केवल सीपमा सीमित हुनु हुँदैन भने। नैतिक मूल्य, कर्तव्यबोध र सामाजिक संवेदनशीलता बिना प्राविधिक प्रगति अधूरो रहने उनको भनाइ थियो। संघको दृष्टिकोण अनुसार युवाले प्रविधिसँगै संस्कार पनि सिक्नुपर्छ।
स्वास्थ्य र चिकित्सा शिक्षाबारे डा. भागवतले उपचार सुलभ र मानवीय हुनुपर्ने बताए। सेवा भाव बिना चिकित्सा केवल व्यवसायमा सीमित हुने बताउंदै सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे।
विदेश नीति, छिमेकी देश र विश्वव्यापी द्वन्द्वबारेका प्रश्नमा उनले वर्तमान विदेश नीतिमा सुधारभन्दा पनि थप सतर्कता र गतिशीलता आवश्यक रहेको बताए। रूस–युक्रेन र इस्रायलका घटनाको सन्दर्भमा उनले भने, समर्थलाई दोष दिइँदैन, शक्तिशालीका लागि नियम हुँदैन। त्यसैले भारतले आर्थिकसहित सबै प्रकारको सामर्थ्य विकास गर्नुपर्नेछ। भारत यति आत्मनिर्भर र शक्तिशाली बन्नुपर्छ कि संयुक्त राष्ट्र संघको स्थायी सदस्यता माग्न नपरोस्, बरु विश्वले स्वयं भारतलाई स्थायी सदस्य बनाउन आग्रह गरोस्।
बंगलादेश, अवैध घुसपैठ र पश्चिम बंगालको संवेदनशील अवस्थाबारे उनले सीमा सुरक्षा, जनसांख्यिकीय सन्तुलन र सामाजिक सौहार्दमा गम्भीर चिन्तन आवश्यक रहेको बताए। समाधान केवल राजनीतिक नभई सामाजिक चेतनाबाट पनि निस्कने उनको भनाइ थियो। बंगलादेशका हिन्दूहरूको दुर्दशा अन्त्य हुन त्यहाँका हिन्दूहरू संगठित रहनुपर्ने उनले बताए। साथै भारत र विश्वका देशहरूले मर्यादाभित्र रहेर बंगलादेशका हिन्दूहरूको सुरक्षाका लागि सक्दो सहयोग गर्नुपर्ने उल्लेख गरे।
अन्त्यमा सरसंघचालकले संघ समाजलाई विभाजन गर्ने होइन, जोड्ने काम गर्ने संस्था भएको बताए। १०० वर्षको यात्रापछि संघको लक्ष्य अझ समर्पित, संस्कारित र राष्ट्रनिष्ठ समाज निर्माण गर्नु हो, जहाँ विचार फरक हुन सक्छन् तर मन र उद्देश्य एकै हुनेछन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी