अटल क्यान्टिनको दिल्लीमा शुरूआत, पाँच रूपियाँमा पाइनेछ पौष्टिक भोजन
क्यान्टिन


नयाँ दिल्ली, 25 दिसम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बिहिवार पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको जयन्तीको अवसरमा नेहरू नगर लगायत राजधानीका विभिन्न क्षेत्रमा अटल क्यान्टिनको उद्घाटन गरिन्। यस अवसरमा केन्द्रिय आवास तथा शहरी विकास मन्त्री मनोहर लाल, दिल्लीका शिक्षा मन्त्री आशिष सूद र विधायक तरविन्दर सिंह मारवाह उपस्थित थिए।

मुख्यमन्त्रीले एक पोस्टमा दिल्लीवासीहरूलाई अटल क्यान्टिन दिने भाजपाको घोषणापत्रको वाचा अब पूरा भएको बताएकी छन्। पहिलो चरणमा आज दिल्लीमा 45 वटा अटल क्यान्टिन शुरु गरिँदैछ। यो सुविधा सकेसम्म धेरै मानिसहरूसम्म पुग्ने सुनिश्चित गर्न भविष्यमा थप 55 वटा खोलिनेछ।

मुख्यमन्त्रीले दिल्ली निर्माणमा संलग्न कामदार, मजदुर, रिक्सा चालक, सरसफाइ कर्मचारी र अन्य मेहनती सहकर्मीहरूले अब केवल पाँच रुपियाँमा पौष्टिक खाना प्राप्त गर्नसक्ने बताइन्। प्रत्येक अटल क्यान्टिनले लगभग 1000 मानिसहरूलाई दिउँसो र बेलुकाको खानाको व्यवस्था गरेको छ। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा, सुशासन र गरीबहरूको कल्याणको दृष्टिकोणबाट प्रेरित यो पहलले दिल्लीलाई यस्तो राजधानी बनाउनेछ जहाँ सम्मानका साथ खाना दिइन्छ र कोही पनि भोकै बस्नु पर्दैन।

मुख्यमन्त्रीले भनिन्, दिल्लीमा स्थापित अटल क्यान्टिनहरूमा सफा सर्विङ एरिया, शुद्ध पिउने पानी, स्टेनलेस स्टीलको टेबल र कुर्सी, डिजिटल टोकन प्रणाली, वास्तविक-समय सीसीटीभी निगरानी, सुरक्षित फोहोर व्यवस्थापन र पूर्ण रूपमा स्वच्छ वातावरण जस्ता सुविधाहरू छन्।

प्रत्येक क्यान्टिनमा हरेक दिन दिउँसोको खाना र बेलुकाको खाना दुवैमा ताजा र पौष्टिक खाना प्रदान गरिनेछ। खानाको गुणस्तर भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफसीसीएआई) द्वारा निरीक्षण गरिनेछ, र कर्मचारीहरूको स्वास्थ्य प्रमाणीकरण र अन्य मापदण्डहरू अनिवार्य हुनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande