वीर बाल दिवसमा प्रधानमन्त्री मोदीले साहिबजादाहरूलाई नमन गरे
pm modi


नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार वीर बाल दिवसको अवसरमा साहिबजादाहरूको अद्वितीय बलिदानलाई श्रद्धापूर्वक स्मरण गरेका छन्। उनले वीर बाल दिवस साहिबजादाहरूको साहस, त्याग र बलिदानलाई सम्झने दिन रहेको बताएका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा साझा गरेको सन्देशमा यस अवसरमा माता गुजरी जीको अडिग आस्था तथा श्री गुरु गोबिन्द सिंह जीका अमर शिक्षाहरूको पनि स्मरण गरिन्छ भनी उल्लेख गरेका छन्। उनले वीर बाल दिवस साहस, दृढ संकल्प र धर्मनिष्ठासँग जोडिएको महत्वपूर्ण दिन रहेको बताएका छन्।

पीएम मोदीले साहिबजादाहरूको जीवन र आदर्शहरूले आउने पुस्तालाई निरन्तर प्रेरणा दिइरहने विश्वास व्यक्त गरेका छन। उनले देशवासीहरूलाई उनीहरूको मूल्य आत्मसात गर्दै राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरेका छन्।

उल्लेखनीय छ, सिख धर्मका दशौँ गुरु श्री गुरु गोबिन्द सिंह जीका चार पुत्र—साहिबजादा अजीत सिंह, साहिबजादा जुझार सिंह, साहिबजादा जोरावर सिंह र साहिबजादा फतेह सिंह—थिए। साहिबजादा अजीत सिंह र साहिबजादा जुझार सिंहले सन् १७०५ मा चमकौरको युद्धमा मुगल सेनासँग लड्दै वीरगति प्राप्त गरेका थिए।

त्यसैगरी, कान्छा साहिबजादा जोरावर सिंह र फतेह सिंहले सरहिन्दमा इस्लाम स्वीकार गर्न अस्वीकार गरेपछि उनीहरूको हत्या गरिएको थियो। यस गहिरो पीडाको बीच माता गुजरी जीले पनि आफ्नो प्राण त्याग गरेकी थिइन्।

साहिबजादाहरूको यो सर्वोच्च बलिदान भारतीय इतिहासमा धर्म, सत्य र मानवीय मूल्यहरूको रक्षाका लागि दिइएको अनुपम उदाहरणका रूपमा स्मरण गरिन्छ। उनीहरूको शौर्य, बलिदान र अटल आस्थालाई नमन गर्न प्रत्येक वर्ष २६ दिसम्बर मा वीर बाल दिवस मनाइन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande