दार्जिलिङमा जातिय कवि अगमसिंह गिरीको ९८औं जयन्ती समारोह सम्पन्न
दार्जिलिङमा जातिय कवि अगमसिंह गिरीको ९८औं जयन्ती समारोह सम्पन्न


दार्जिलिङ, 27 दिसम्बर (हि.स.)। सूचना अनि सांस्कृतिक विभाग, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अनि साहित्य अकादमीको संयुक्त आयोजनामा आज दार्जिलिङको लुईस जुब्ली परिसरमा जातिय कवि अगमसिंह गिरीले ९८औं जन्मजयन्ती एक कार्यक्रमबीच औपचारिक रूपमा पालन गरियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा जीटीए सभा अध्यक्ष अञ्जुल चौहान उपस्थित थिए भने विशिष्ट अतिथिहरुमा जीटीए डेपुटी चेयरम्यान राजेस चौहान अनि सूचना अनि सांस्कृतिक विभागका विभागीय सभासद अनोस थापा उपस्थित थिए।

कवि गिरीको प्रतिमा अघि दीप प्रज्ज्वलन गरी आरम्भ गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार डाक्टर गोकुल सिन्हाले कवि अगमसिंह गिरीको जीवनी अनि उनको जातिप्रतिको योगदानलाई प्रकाश पारे। यसरीनै कार्यक्रममा जीटीए सभा अध्यक्ष अञ्जुल चौहानले जातिको उत्थानको निम्ति सधैं कवि गिरीको दर्शनलाई आत्मसात् गर्नु पर्ने बताए। सूचना अनि सांस्कृतिक विभागका अधिकारी अनोस् थापाले हाम्रो जातिय विभुतिसंगै भाषा साहित्यको जगेर्ना गर्नु पर्ने विषयमा जोड़ दिए।

कार्यक्रममा कवि पवन महिमा, कवि नरेश कटुवाल, कवि आरती ठकुरी अनि कवि द्वारिका छेत्रीले कविता वाचन गरेका थिए। कार्यक्रममा जीटीएको आगामी वर्ष २०२६ को वार्षिक क्यालेण्डरको पनि लोकार्पण गरियो। कार्यक्रममा जाति प्रेमी, सहित्यअनुरागीहरु लगायत अन्य मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande