
कोलकाता, 09 दिसम्बर (हि. स.)। भरतपुरका निलम्बित तृणमूल कंग्रेस विधायक हुमायुँ कबीरले मंगलवार भने, उनलाई फोन कलमा लगातार हत्या गर्ने धम्की प्राप्त भइरहेको छ जसकारण अब उनी चाँड़ै नै कलकत्ता उच्च अदालतको शरणमा पुग्नेछन् अनि आफ्नो सुरक्षा बढ़ाउने माग गर्नेछन्।
मुर्शिदाबादको बेलडांगामा प्रस्तावित ‘बाबरी मस्जिद’- को शिलान्यास गरेपछि राजनीतिक विवाद गहिरिएको छ। कबीरको भनाइ छ, उनलाई आफ्नो ज्यानलाई लिएर गम्भीर खतरा महसूस भइरहेको छ। उनले भने, धम्कीपूर्ण फोन आउने क्रम गत 6 दिसम्बरपछि तीव्र भएको छ।
कबीरले भने, “हर दिन धम्की आइरहेको छ। मेरो ज्यान लिने र मस्जिद बन्न नदिने धम्की दिरहेको छ। नौशाद सिद्दीकीले सुरक्षा पाउन सक्छ भने मैले पनि पाउनुपर्छ। म उच्च अदालतमा जानेछु। हाल निजी सुरक्षालाई लिएर हिँड़िरहेको छु। बेंगलुरूमा पनि एक महत्वपूर्ण कार्यक्रम छ, त्यसैले अतिरिक्त सुरक्षाको खाँचो छ।
कबीरद्वारा ‘बाबरी मस्जिद’- को नाममा शिलान्यास गरिएपछि राजनीतिक प्रतिक्रियाहरू तीव्र भएको छ। तृणमूल कंग्रेसले त्यसै दिन उनलाई निलम्बित गर्दै भन्यो, पार्टीमा साम्प्रदायिक राजनीतिलाई कुनै ठाउँ छैन। वरिष्ठ नेता फिरहाद हकिमले त झन् यहाँसम्म आरोप लगाए, कबीर यस मामिलामा भारतीय जनता पार्टीसित मिलेर काम गरिरहेका छन्। अर्कोतिर विपक्षले पनि यस घटनाको निन्दा गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा