
कोट्टायम, 09 दिसम्बर (हि.स.)। भारतीय डाक विभागले केरलाको कोट्टायमस्थित सीएमएस कलेजमा मंगलबार राज्यको पहिलो जेन–जी पोस्ट अफिस एक्सटेन्शन काउन्टर शुरू गरेको छ। नयाँ पुस्तालाई लक्षित गरेर तयार गरिएको आधुनिक पोस्ट अफिसको उद्घाटन डाक सेवा केरलाको मध्य क्षेत्रका निर्देशक एनआर गिरीले गरे। विशेष कुरा के छ भने यसको सम्पूर्ण डिजाइन कलेजका विद्यार्थीहरूले इण्डिया पोस्टसँग मिलेर तयार गरेका हुन्।
केन्द्रिय सञ्चार मन्त्रालयका अनुसार, यो नयाँ पोस्ट अफिसले विद्यार्थीहरूलाई यस्तो आरामदायक र आधुनिक वातावरण प्रदान गर्नेछ, जहाँ उनीहरूले पढाई, काम र डाक सेवाहरू तीनै काम एउटै स्थानमा सजिलै गर्न सक्नेछन्। सम्पूर्ण स्थललाई युवाहरूको रुचिअनुसार प्रकृतिमूलक तथा क्रिएटिभ लुक दिइएको छ। यहाँ पिकनिक शैलीका सीटिङ, भर्टिकल गार्डन र रिसाइकल गरिएका टायरबाट बनेका कुर्सीहरू राखिएका छन्।
विद्यार्थीहरूको सुविधाका लागि काउन्टर नजिकै ल्यापटप र मोबाइल चार्ज गर्ने पोइन्टहरू बनाइएका छन्। त्यस्तै एक छुट्टै रिडिङ तथा रिक्रिएसन कर्नर पनि राखिएको छ, जहाँ पुस्तकहरू र बोर्ड गेमहरू उपलब्ध छन्। डाक सेवासँग सम्बन्धित सबै आवश्यकता पूरा गर्न यहाँ बहुउद्देश्यीय काउन्टर मेसिन बुकिङ काउन्टर, प्याकेजिङ सामग्री र ‘माइ स्ट्याम्प’ प्रिन्टर जस्ता सुविधाहरू पनि उपलब्ध छन्।
यस पोस्ट अफिसका भित्ताहरू विद्यार्थी तथा कलेज स्टाफद्वारा बनाइएका कलाकृतिहरूले सजाइएका छन्। यी चित्रकलाहरूमा इण्डिया पोस्टको विरासत, कोट्टायमको सांस्कृतिक पहिचान र प्रकृतिसँग सम्बन्धित थिमहरू झल्किएका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी