
गान्तोक, 9 दिसम्बर (हि.स.)। भारत सरकारको आयुष मन्त्रालयले विश्व स्वास्थ्य संगठन– ग्लोबल ट्राडिसनल मेडिसिन सेन्टरसॅंगको सहकार्यमा 17 देखि 19 दिसम्बर, 2025 सम्म नयाँ दिल्लीको भारत मण्डपममा परम्परागत औषधि सम्बन्धी दोस्रो डब्ल्यूएचओ ग्लोबल समिट आयोजना गरिरहेको छ। यस वर्षको विषयवस्तु “सन्तुलन पुनर्स्थापना: स्वास्थ्य र कल्याणको विज्ञान तथा अभ्यास” रहेको छ।
यो उच्च-स्तरीय वैश्विक सम्मेलनले 100 भन्दा बढी देशका नीति-निर्माताहरू, विशेषज्ञहरू, अनुसन्धानकर्ता, उद्योग प्रतिनिधि तथा सरोकारवाला पक्षहरूलाई एक साझा मञ्चमा ल्याई परम्परागत चिकित्सालाई सशक्त, समावेशी र दिगो वैश्विक स्वास्थ्य प्रणालीको अभिन्न भाग बनाउने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
उक्त जानकारी नैदानिक अनुसन्धान एकाई, होम्योपेथी, गान्तोकका जेआरएफ (वनस्पति विज्ञान) विशाल छेत्रीले दिएका छन्। राजधानीको इन्दिरा बाइपासस्थित केन्द्रमा आज आयोजित एक पत्रकार सम्मेलनमा छेत्रीले परम्परागत औषधि सम्बन्धी वैश्विक शिखर सम्मेलनबारे भने, 8 दिसम्बर, 2025 का दिन आयुष मन्त्रालयले आगामी 17 देखि 19 दिसम्बरसम्म आयोजना हुने परम्परागत औषधिमाथि दोस्रो डब्ल्यूएचओ वैश्विक शिखर सम्मेलनबारे नयॉं दिल्लीमा आयोजित एक कर्टन रेजर प्रेस सम्मेलन आयोजना गरियो। सम्मेलनमा केन्द्रिय आयुष राज्यमन्त्री प्रतापराव जाधवले परम्परागत औषधिमाथि भारतले दोस्रो डब्ल्यूएचओ वैश्विक शिखर सम्मेलन आयोजना गरिरहेकोमा गर्व व्यक्त गरे।
यसरी नै जेआरएफ (होम्योपेथी) शंकर शुभपात्रोले भने, नैदानिक अनुसन्धान एकाई (टी), गान्तोक, सिक्किमको स्थापना मार्च 1984 मा भएको थियो। शुरूमा यो एकाई उत्तर सिक्किमको मङ्गनमा सञ्चालन भयो र 1989 मा गान्तोकमा स्थानान्तरण भयो। एकाई अहिले राजधानीको इन्दिरा बाइपास रोडमा किरायको भवनमा सञ्चालन भइरहेको छ। उनले यहॉं वार्षिक रूपमा 3 हजारदेखि 3 हजार 500 जना बिरामीहरू आउने गरेको र विभिन्न प्रकारका रोगहरूको उपचार गराइरहेको बताए। एकाईले स्वास्थ्य शिविरहरू, सीएमई कार्यक्रमहरू, कार्यशालाहरू र आरोग्य मेलाहरू पनि आयोजना गरिरहेको जानकारी गराए। उनले एकाई सोमवारदेखि शनिवारसम्म बिहान 9 बजीदेखि दिउॅंसो एक बजीसम्म खुल्ला रहने बताए। उनले बीपीएल कार्डधारकहरूले नि:शुल्क र वरिष्ठ नागरिकहरूले 50 प्रतिशत छुट दरमा उपचार गराउन सक्ने पनि बताए। यद्यपि, लाभार्थीहरूले आफुसॅंग बीपीएल कार्ड र वरिष्ठ नागरिकको पहिचान पत्र ल्याउनु आवश्यक रहेको उनले बताए।
यस अघि एकाईकी प्रयोगशाला प्राविधिक मनिषा थापा मङ्गरले सेन्ट्रल काउन्सिल फर् रिसर्च इन् होम्योपेथी (सीसीआरएच) भारत सरकारको आयुष मन्त्रालय अन्तर्गत स्वायत्त निकायको रूपमा चलिरहेको देशकै शिकर अनुसन्धान संगठन रहेको जानकारी गराइन्। उनले सीसीआरएच होम्योपथीको क्षेत्रमा वैज्ञानिक अध्ययनलाई संवर्द्धनको लागि समर्पित रहेको बताइन्। 1978 मा स्थापित यस प्रतिष्ठानको मुख्यालय दिल्लीमा रहेको र यसको मुख्य कार्य होमियोपेथीको वैज्ञानिक मान्यता र विश्वव्यापी स्वीकृति सुनिश्चित गर्न उच्च गुणस्तरको अनुसन्धान, समन्वय र विकास गर्नु रहेको बताइन्।
यस अघि एकाईका युडीसी जिमकर प्रधानले सिक्किममा सबैभन्दा पहिले होम्योपेथी एकाई 1984 मा मङ्गनबाट शुरू भएको, तर आज 42 वर्ष बितिसक्दा पनि होम्योपेथीको बारेमा मानिसहरू अनविज्ञ रहेको बताए। उनले अझै पनि धेरै मानिसहरूलाई होम्योपेथी र आयुर्वेदको बारेमा स्पष्ट जानकारी नरहेको बताए। यस अतिरिक्त, उनले एकाईका विभिन्न गतिविधिहरूको बारेमा पनि जानकारी गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल