
मङ्गन, 9 दिसम्बर (हि.स.)। सिक्किम अमेचुअर बक्सिङ एसोसिएशन (एसएबीए) को विशेष आम सभा सोमवार माङशिला, मङ्गनमा बस्यो। मङ्गन जिल्ला बक्सिङ एसोसिएशन (एमडीबीए) द्वारा एसएबीएको संयुक्त तत्वावधानमा आयोजित यस बैठकमा साबा अध्यक्ष अर्जुन अवार्डी जसलाल प्रधान, मुख्य प्रशिक्षक द्रोर्णाचार्य अवार्डी सन्ध्या गुरुङ, उपाध्यक्ष बीटी भोटिया, महासचिव अन्जना थापा लगायत एमडीबीएका अध्यक्ष पाल्देन एन. लाचुङ्गपा, महासचिव गणेश कुमार सुब्बा आदि उपस्थित थिए।
बैठकमा मङ्गन जिल्ला र सिक्किममै बक्सिङ खेलको विकासको लागि व्यापक छलफल गरियो। यसैगरी, सबै वर्गमा राज्य र राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजनलाई लिएर उपस्थित सबैले आफ्नो महत्वपूर्ण सुझाउहरू दिए।
एसएबीए अध्यक्ष जसलाल प्रधानले विगतका दिनहरूमा सिक्किमका युवाहरूले रक्षा बल र पुलिस सेवामा बक्सिङको माध्यमद्वारा पाएका अवसरहरूको बारेमा जानकारी गराए। उनले मानिसहरूलाई विश्वासमा लिॅंदै बक्सिङलाई तृणमूलस्तरमा प्रोत्साहित गर्न अपील पनि गरे।
यस अघि एमडीबीए अध्यक्ष लाचुङ्गपाले मङ्गन जिल्लामा बक्सिङ खेलको विकासको लागि पूर्वाधार निर्माणबारे सरकार समक्ष प्रस्तुत गर्नु पर्ने प्रस्तावबारे अवगत गराए। मङ्गन जिल्लाले धेरै बक्सरहरू जन्माएका छन्, जसले राज्य र राष्ट्रियस्तरमा राज्यको नाम रोशन गरेको उनले बताए। उनले सिक्किम सरकारप्रति निरन्तर प्रोत्साहन एवं समर्थनको लागि कृतज्ञता व्यक्त गरे।
यस अवसरमा सोरेङ जिल्लाबाट सिक्किम यङ्गस्टर्स बक्सिङ क्लब, रुम्बुकबाट विशेष अतिथिहरू पनि उपस्थित थिए। उनीहरूले तृणमूल स्तरमा बक्सिङको प्रोत्साहन एवं विकासका लागि महत्वपूर्ण सुझाउहरू दिए।
हिन्दुस्थान समाचार / बिशाल