गान्तोक, 10 मार्च (हि.स.)। आगामी 6 अप्रेल राम नवमीको शुभ अवसरमा पश्चिम सिक्किमको दरापमा 'दराप 13 किलोमिटर ट्रेल रन' आयोजना गरिने भएको छ। यस ट्रेल रनमा सिक्किम लगायत दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, कोलकाता आदि ठाउॅंहरूबाट धावकहरूले भाग लिनेछन्।
उक्त जानकारी म्याराथन म्यान अफ् सिक्किमले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए। उनले रामनवमीको शुभ अवसर पारेर दराप 13 किलोमिटर ट्रेल रन आयोजना भइरहेको बताए। उनले यो ट्रेल रन आयोजना गर्नुको मुख्य उद्देश्य दरापलाई एक पर्यटक गन्तव्यको रूपमा स्थापित गर्नुका साथै मानिसहरूलाई आफ्नो स्वास्थ्यप्रति जागरूक गर्दै खेलकुदमा प्रोत्साहित गर्नु रहेको बताए। यसैगरी, युवाहरूलाई विभिन्न कुलतहरूबाट ध्यान हटाएर खेलप्रति चासो बढाउनु पनि यसको उद्देश्य रहेको उनले बताए।
सुब्बाले यस ट्रेल रनको निम्ति ट्रेल रनर शान्ति राई, फुर्बा तामाङ, अलिना लेप्चा, भारती गुरुङ लगायत 75 वर्षीय वृद्धा गंगामाया थापा र बालिका शिवानी थापालाई पनि एम्बासेडर बनाएको जानकारी गराए। उनले अधिकांश महिलाहरूलाई एम्बासेडर बनाउनुको उद्देश्य महिलाहरू हरेक क्षेत्रमा पुरुष सरह अगाडि बढ्न सक्षम छन् भन्ने सन्देश गाउॅं समाजमा दिनु रहेको बताए। उनले यी महिलाहरूलाई देखेर गाउॅं घरमा अन्य महिलाहरू पनि प्रेरित बनुन् भन्ने आफ्नो धेय रहेको बताए।
उनले ट्रेल रनमा भाग लिनका लागि अनलाइन साथै अफलाइन पञ्जीकरण गर्न सकिने बताए। उनले ट्रेल रनको थीम 'मेरो रुख मेरो सन्तति' राखेको पनि जानकारी गराए। उनले दराप 13 किलोमिटर ट्रेल रनलाई वार्षिक कार्यक्रम बनाउने लक्ष्य रहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल