भरत बस्नेतले दिए सीएपी सिक्किमको साधारण सदस्यताबाट राजीनामा
भरत बस्नेतले दिए सीएपी सिक्किमको साधारण सदस्यताबाट राजीनामा


गान्तोक, 10 मार्च (हि.स.)। सिक्किमका एक वरिष्ठ राजनीतिज्ञ एवं सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका पूर्व अध्यक्ष भरत बस्नेतले पार्टीबाट पनि राजीनामा दिएका छन्। उनले सीएपी अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा पार्टीको साधारण सदस्यताबाट राजीनामा दिइरहेको जनाएका छन्।

भरत बस्नेतले पार्टीका नेतृत्वहरूमाथि बारम्बार सिक्किम विरुद्ध बयान दिइरहेको आरोप आफ्नो राजीनामा पत्रमा लगाएका छन्। यसले आफूलाई ठूलो चोट पुगेको बताउॅंदै पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइरहेको कुरा उनले आफ्नो पत्रमा उल्लेख गरेका छन्।

पार्टी त्याग्ने आफ्नो निर्णयका कारण पार्टीका सहयोद्धाहरूलाई ठेस पुग्न गएको खण्डमा उनले क्षमा पनि मागेका छन्।

उल्लेखनीय छ, सीएपी सिक्किमले 2024 को आम चुनाउ भरत बस्नेतको अगुवाईमा लडेको थियो। उनी पार्टीको लोकसभा उम्मेदवार पनि थिए। तर, चुनाउमा सीएपीले खाता खोल्न समेत सकेन। बस्नेतले चुनाउमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिॅंदै अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande