गान्तोक, 10 मार्च (हि.स.)। भारतीय जनता पार्टीले केन्द्र सरकारका जनकल्याणकारी योजनाहरूको लाभ सिक्किमे जनताको घर-दैलोसम्म पुऱ्याउन अहिले राज्यका विभिन्न स्थानहरूमा आयुष्मान भारत पञ्जीकरण एवं कार्ड वितरण शिविरहरूको आयोजना गरिरहेको छ। यसै क्रममा 9 मार्चको दिन तुमिन लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत पातुक कोकोलेमा 70 वर्षमाथिका वृद्ध-वृद्धाहरूको निम्ति आयोजन गरेको कार्ड वितरण शिविरमा स्थानीय लाभार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
पार्टी प्रदेश अध्यक्ष डीआर थापाको निर्देशन अनि जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, क्षेत्रका गत चुनाउका उम्मेदवार पासाङ ग्याली शेर्पा, जिल्ला महासचिव पीके नेउपाने, मीडिया प्रभारी निरेन भण्डारी अनि मण्डल अध्यक्ष प्रेम छेत्रीको पहलमा सम्पन्न उक्त शिविरलाई सफल बनाउन पार्टी आईटी सेलका कार्यकारी सदस्य केशव शर्मा, निकी भोटिया र समीर बस्नेतले सहयोग पुऱ्याएका थिए।
शिविरमा लाभार्थीहरूको अनलाइन पञ्जीकरण, स्वीकृति साथै कार्ड जेनेरेट गरेर कार्यक्रमस्थलमै प्रिण्ट तथा लेमिनेशन गरी लाभार्थीलाई तत्काल प्रदान गर्ने व्यवस्था गरिएको थियो। शिविरबाट स्थानीय 50 भन्दा अधिक परिवारले लाभ उठाएका थिए। बिहान 10 बजीदेखि शुरू भएको उक्त शिविर साँझ 7 बजी समापन भएको प्रदेश भाजपाका मिडिया प्रभारी निरेन भण्डारीले विज्ञप्तिमा बताएका छन्।
कार्यक्रममा औपचारिक स्वागत गर्दै मण्डल अध्यक्ष प्रेम छेत्रीले यस शिविरको औचित्य अनि प्रधानमन्त्री नरेन्द्र मोदीको वृद्ध-वृद्धाहरूको स्वास्थ्यप्रति सम्वेदनशीलतामाथि प्रकाश पारेका थिए। यसै गरी पार्टी प्रवक्ता पासाङ ग्याली शेर्पाले आफ्नो सम्बोधनमा आयुष्मान कार्डको महत्व अनि उपयोगितामाथि प्रकाश पार्दै राज्यमा कूल 19 वटा अस्पताल अनि देशभरिमा 29 हजारभन्दा अधिक अस्पतालहरू यस योजना अन्तर्गत सूचीबद्ध रहेको जानकारी दिए। लाभार्थीहरूले कुनै पनि सूचीबद्ध अस्पतालहरूमा भर्ना भएपछि यो कार्ड उपयोगी हुने जानकारी दिँदै सबै उपस्थित लाभार्थीहरूको सुस्वास्थ्य तथा दीर्घायुको कामाना गरे। उनले उपस्थित सबैलाई आ-आफना गाउँ-छिमेकमा रहेका 70 वर्षमाथिका योग्य लाभार्थीहरूसम्म यसको सन्देश पुऱ्याइदिने पनि आह्वान गरेका छन्।
भाजपा सिक्किमको यस जनकल्याणकारी पहलको स्थानीयवासीले खुलेर प्रशंसा गरेको बताइएको छ। उनीहरूले आफ्नो गाउँ-घरमा यस प्रकारको शिविर आयोजना गरिदिएकोमा भाजपा सिक्किम अनि 5 लाखसम्मको उपचार सुविधा प्रदान गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
उल्लेख्य, भाजपा सिक्किमले अप्पर बुर्तुक, गान्तोक, नाथाङ माछोङ अनि रिनाक निर्वाचन क्षेत्रमा आयुष्मान पञ्जीकरण अभियान सक्रियतापूर्वक चलाइरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल