सांसद सुब्बाले केन्द्रिय नागरिक उड्डयन मन्त्रीसॅंग भेट गरेर पाकिम हवाई अड्डाको मुद्दा उठाए
सांसद सुब्बाले केन्द्रिय नागरिक उड्डयन मन्त्रीसॅंग भेट गरेर पाकिम हवाई अड्डाको मुद्दा उठाए


गान्तोक, 10 मार्च (हि.स.)। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज केन्द्रिय नागरिक उड्डयन मन्त्री राममोहन नायडूसँग संसद भवनस्थित उनको कार्यालयमा भेट गरे। सांसद सुब्बाले पाकिम हवाई अड्डाबाट उडान सञ्चालन पुन: शुरु गर्नुपर्ने तत्काल आवश्यकतामाथि जोड दिँदै सिक्किमका जनताले झेलिरहेका गम्भीर असुविधा र राज्यको पर्यटन क्षेत्रमा परेको प्रतिकूल प्रभावबारे केन्द्रिय मन्त्रीलाई जानकारी गराए।

उनले बारम्बार माग गर्दा पनि स्पाइसजेट एयरलाइन्सले उडान पुनः शुरु गर्न जानाजानी ढिलाइ गर्दा कनेक्टिभिटीमा बाधा पुगेको र आर्थिक गतिविधिहरू, विशेष गरी पर्यटन उद्योग प्रभावित बनेको अवगत गराए। सांसदले 01 मार्चमा गान्तोकमा नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री मुरलीधर मोहोलसँग पनि भेट गरेर यो मुद्दा उठाएको जानकारी गराए।

सुब्बाले गहिरो चिन्ता व्यक्त गर्दै केन्द्रिय मन्त्रीलाई स्पाइसजेट एयरलाइन्सका प्रतिनिधिहरू, सिक्किम सरकारको नागरिक उड्डयन विभाग र नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूसहित सबै प्रमुख सरोकारवालाहरूसँग उच्चस्तरीय बैठक बोलाएर तत्काल कारबाही गर्न आग्रह गरे। उनले यो लामो समयदेखिको समस्याको द्रुत र प्रभावकारी समाधान सुनिश्चित गर्न सहयोगी छलफलको महत्त्वमा जोड दिए।

अर्कोतिर, केन्द्रिय मन्त्री नायडूले सांसद सुब्बाले उठाएका चिन्ताहरूलाई ध्यानपूर्वक सुनेपछि नागरिक उड्डयन मन्त्रालयले चाँडै नै यो मुद्दालाई सम्बोधन गर्न सम्बन्धित सरोकारवालाहरूसँग बैठक आयोजना गर्ने आश्वासन दिएको विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande