खरसाङमा केदारनाथ प्रसाद मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट हुने
खरसाङमा केदारनाथ प्रसाद मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट हुने


खरसाङमा, 10 मार्च (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा खरसाङमा‌ टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट हुने भएको छ। खरसाङ महकुमा खेलकूद संघको 2025-26 को क्यालेण्डर वर्षको पहिलो खेलकूद कार्यक्रम केदारनाथ मेमोरियल क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ।

टुर्नामेन्ट आयोजनलाई लिएर आज खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भयो। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले भने, खरसाङको भिक्टोरिया स्कूलको खेल मैदानमा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आगामी 22 मार्चदेखि शुरु हुनेछ। यस टुर्नामेन्टमा भाग लिनका लागि इच्छुक दलहरूले 16 मार्चसम्ममा पञ्जीकरण गर्नुपर्ने छ।

सचिव निर्मल गुरुङले यसपाली टेनिस बलमा नै खेल खेलाइने र यसको लागि झट्टै पञ्जीकरण गराउनु पर्ने बताए। टुर्नामेन्ट अन्तर्गत शुरुमा 15-15 ओभरको म्याच खेलाइनेछ भने सेमिफाइनल र फाइनल चाहिँ 20-20 ओभरको खेलाइने छ। उनले भने, हामीले खरसाङमा स्टिच बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै आएका थियौं, तर स्टिच बलसित खेल्नका लागि सबैसॅंग भनेको जस्तो सर सामानहरु हुँदैन र सबैले सहभागिता जनाउन सक्दैनन्। यस कारण यसपाली हामीले टेनिस बलमा टुर्नामेन्ट आयोजना गरिरहेका छौँ। यसावधि स्व केदारनाथ प्रसाद मेमोरियल क्रिकेट टुर्नामेन्टको ट्रफीहरु पनि प्रदर्शनी गरिएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande