पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिद्वारा अन्तरराष्ट्रिय नारी दिवस पालन
पंखाबारी-लङ्भ्यू-अम्बटे समष्टिद्वारा अन्तरराष्ट्रिय नारी दिवस पालन


खरसाङ, 10 मार्च (हि.स.)। खरसाङको पंखाबारी लङ्भ्यू अम्बटे समष्टि अन्तर्गत गाडीधुरा सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा अन्तरराष्ट्रिय नारी दिवस भव्य रूपमा पालन गरियो। कार्यक्रमको अध्यक्षता नारी शक्ति केन्द्रिय समिति अध्यक्ष साथै खरसाङ खण्ड पञ्चायत समिति अध्यक्ष अनु प्रधानले गरेकी थिइन्।

यस अवसरमा अनिला राई रोहिणी कृषि उत्पादनमा पश्चिम बंगाल सरकारद्वारा सम्मानित, सुबानु लामा पंखाबारी चेयरम्यान समृद्धि सङ्घ, संजीला मगर थापा गाडीधुरा नृत्य प्रशिक्षक डे लाइट इन्स्टिच्युट साथै मिस्टर एड मिसेस जुनियर दार्जिलिङ विजेता साइना राई लङ्भ्यूलाई प्रमुख अतिथि साथै विशिष्ट अतिथिहरूको बाहुलीबाट शाल ओढाएर अनि स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो।

यसरी नै समष्टि अन्तर्गत रहेका सम्पूर्ण आगानवाडी कर्मी, सहकर्मी, आशाकर्मी, एसभीएम अनि भीसीडीका कर्मीहरूलाई पनि स्मृति चिन्ह प्रदान गरी सम्मान जनाइयो।

समारोहकी मुख्य अतिथि निर्मला थापाले आफ्नो सम्बोधनमा नारीहरू स्वनिर्भर हुनपर्ने विषयमा जोड दिइन्। साथै, उनले आफू समृद्धि संघको भूर्तपूर्व सभापति भएको नाताले स्वनिर्भर दलहरूलाई चाहिएको खण्डमा आफूले हरसम्भव सहयोग गर्ने वचन दिइन्।

समष्टि कार्यकारी सभासद कल्पना प्रधानले आफ्नो सम्बोधनमा जीटीए प्रमुख कार्यपाल अनित थापाको दिशा निर्देशमा समष्टिमा अन्तरराष्ट्रिय नारी दिवस भव्यरूपमा पालन गर्न सफल भएको जनाइन्। तिनले नारीहरू अनुशासनमा रहेर कार्य गरे घर स्वर्ग बन्ने बताइन्। पुरूषहरूले केवल नारी दिवसको दिन मात्र सम्मान नजनाएर अन्य दिनहरूमा पनि नारीहरूलाई ह्रदयबाट सम्मान जनाउन पर्ने उनले विचार प्रकट गरिन्।

अनु प्रधानले अब नारी केवल घरको चुल्हा चौका मात्र चलाउने नभएर समाज र देश पनि चलाउन सक्ने क्षमता भएको नारी हुन पर्ने जनाइन्। जीटीए पञ्चायत समिति साथै ग्राम पञ्चायतहरूमा नारीहरूको सहभागिता नारी सशक्तिकरणमाथि जीटीएले गरिरहेको कार्यको प्रमाण रहेको उनले बताइन्।

कार्यक्रममा युवा शक्ति केन्द्रिय समिति उपाध्यक्ष साथै खरसाङ महकुमा समिति कार्यकारी सचिव अनुप गदालले नारी सशक्तिकरण विषयमा प्रेरणादयक सुन्दर कथा वाचन गरेका थिए। यसैगरी, विभिन्न स्वनिर्भर दलका सदस्यहरूले सुन्दर गीत, नृत्य र कविताहरू वाचन पनि गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande