गान्तोक, 10 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम अग्निशमन एवं आपातकालीन सेवा विभाग अन्तर्गत 13 वटा नयाँ फायर टेन्डरलाई झण्डा हल्लाएर प्रस्थान गराए। राजधानीस्थित रिज पार्कबाट मुख्यमन्त्री तामाङले झण्डा हल्लाएर फायर टेन्डरलाई प्रस्थान गराएका हुन्।
आजदेखि जनहितको निम्ति समर्पित यी वाहनहरूले आपतकालीन अवस्थामा नागरिकहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्रीले बताएका छन्। अग्नि नियन्त्रण एवम् नागरिक कानून प्रवर्तनको रूपमा सेवा पुऱ्याउने राज्यका पुलिस कर्मचारीहरूको प्रतिबद्धता र समर्पणको प्रशंसा गरे।
उनीहरूलाई थप सहयोग र उत्प्रेरित गर्न वर्तमान सरकारले उनीहरूको कल्याण र व्यावसायिक वृद्धि बढाउने उद्देश्यले विशेष वित्त पोषण पहलहरू शुरू गरेको मुख्यमन्त्री बताए। यी उपायहरूले उनीहरूको मनोबल मात्र नबढाएर उनीहरूलाई अझ बढी दक्षता र समर्पणका साथ आफ्नो कर्तव्य पालन गर्न सशक्त बनाउने उनले मन्तव्य प्रकट गरे।
यसैगरी, पुलिस महानिदेशक अक्षय सचदेवाले आफ्नो सम्बोधनमा मुख्यमन्त्रीलाई सहयोगको निम्ति आभार व्यक्त गरे। अग्निशणन विभाग अन्तर्गत तेह्रवटा नयाँ फायर टेन्डरहरू थपिएको जानकारी गराउँदै आगलागीको आपतकालीन व्यवस्थापनमा विभागले गरेको अनुकरणीय प्रयास र प्राकृतिक विपत्तिको विपरित समयमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनले प्रशंसा गरे। उनले सिक्किममा अग्नि सेवा पहुँचमा थप सुधार गर्न जालीपुल र मल्लीमा पनि दुईवटा नयाँ फायर स्टेशनहरू निर्माण गर्ने जानकारी गराए।
कार्यक्रममा अग्निशमन र एसडीआरएफका कर्मचारीहरूद्वारा आयोजित ड्रिल प्रदर्शनको साथै अग्नि गानको पनि प्रस्तुति गरिएको थियो। स्वागत सम्बोधन गर्दै अग्निशमन विभागका निर्देशक खिलवर्ण गुरुङले तकनिकी रिपोर्ट प्रस्तुत गरेका थिए। उल्लेख्य छ, यी नयाँ १३ वटा फायर टेन्डर आजदेखि विभिन्न अग्निशमन केन्द्रमा तैनाथ गरिएको छ।
मुख्यमन्त्रीले यी उपकरणहरूको निरिक्षण र फ्ल्याग अफ गरेपछि यी फायर टेण्डरहरू विभिन्न स्थानमा अग्निशमन स्टेशनमा पठाइएको छ। सिक्किम पुलिसको तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्य सचिव आर. तेलाङ, सिक्किम पुलिस र अग्निशमन विभागका अधिकारी र कर्मचारी अनि एसडीआरएफका जवानहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / प्रदीप