14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन
14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन


गान्तोक, 10 मार्च (हि.स.)। राजधानीस्थित पाल्जोर स्टेडियमको इन्डोर हलमा गत 8 मार्चदेखि आयोजित तीन दिवसीय 24औँ स्टेट क्योरूगी अनि 14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको आज समापन भयो। उक्त च्याम्पियनशिपको आयोजना सिक्किम अमेचुअर ताइक्वान्डो एसोसिएशन (साटा) ले मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण राईको सहयोगमा गरेको थियो।

च्याम्पियनशिपको समापन समारोहमा आज खेल तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत मुख्य अतिथि र श्रीमती राई विशेष अतिथिको रूपमा उपस्थित थिए। यसैगरी, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, एसकेएम पार्टीका प्रवक्ता सञ्जय दिलपाली राई लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

च्याम्पियनशिपको समापन अन्तर्गत विविध विधामा प्रतिस्पर्धा सम्पन्न भयो। प्रतियोगितामा राज्यभरिका 650 भन्दा अधिक प्रतियोगीहरूले भाग लिएका थिए। खुल्ला वर्गमा सिक्किम लगायत सिलगढी र दार्जिलिङका खेलाडीहरूले पनि अंशग्रहण गरेका थिए।

क्योङसी र पुम्से प्रतियोगिता अन्तर्गत सिनियर, जुनियर, क्याडेट, सब जुनियर र भेट्रन्स वर्गमाझ भीडन्त भएको थियो भने खुल्ला वर्गमा ब्रेकिङ, फ्लेक्सिबिलिटी, एरोबिक लगायत विगिनिङ्स क्योङसी र पुम्से स्पर्धामा खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताको समापन अवसरमा सबै विजयी खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र एवं पारितोषिक वितरण गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande