गान्तोक, 11 मार्च (हि.स.)। कोभिड महामारीपछि सिक्किममा अन्तरराष्ट्रिय पर्यटकहरूको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। 2022 र 2023 सालमा कुल 1.62 लाख अन्तरराष्ट्रिय पर्यटकहरूले हिमाली राज्य सिक्किमको भ्रमण गरेका छन्।
केन्द्रिय पर्यटन मन्त्रीका अनुसार, 2022 मा कुल 68,645 अन्तरराष्ट्रिय पर्यटक सिक्किम भ्रमणमा आए। 2023 मा अन्तरराष्ट्रिय पर्यटकहरूको संख्या बढेर 93,908 पुग्यो। यी तथ्याङ्कहरूले राज्यको पर्यटन उद्योगमा उल्लेखनीय वृद्धिलाई उजागर गर्दछ, जसले दुई वर्षको कोभिड महामारीपछि आशाजनक सुधारको संकेत दिएको छ।
सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले संसदमा राखेको प्रश्नको जवाफमा केन्द्रिय पर्यटन मन्त्रीले संसदमा उक्त जानकारी साझा गरेका हुन्। 10 मार्चमा उपलब्ध गराइएको लिखित जवाफ अनुसार, 2022 र 2023 मा आठ पूर्वोत्तर राज्यहरूमध्ये सिक्किममा सबैभन्दा बढी विदेशी पर्यटकहरू आएका थिए।
लोकसभा सांसद सुब्बाले यी तथ्याङ्कहरूले अन्तरराष्ट्रिय पर्यटकहरूमा सिक्किमको बढ्दो लोकप्रियतालाई प्रतिबिम्बित गर्दछ भन्दै कोभिडपछि राज्यको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङले गरेको अथक प्रयासलाई श्रेय जान्छ भनी बताएका छन्। उनले राज्यको पर्यटन क्षेत्रले कोभिड महामारी कम भएपछि तुरुन्तै द्रुत गतिमा सुधार गरेको उक्त तथ्याङ्कहरूले स्पष्ट हुन्छ भनेका छन्।
उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम सरकारले कोभिड राहतको घोषणा भएपछि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा सिक्किमलाई सुरक्षित र आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्न तत्काल कदम चालेको विज्ञप्तिमा उल्लेख गरेका छन्। यसैगरी, ट्राभल एजेन्ट एसोसिएशन आफ् सिक्किमसहित पर्यटन सरोकारवालाहरूद्वारा गरिएका आउटरिच पहलहरूले यस सफल पुनरुत्थानमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्।
सांसद सुब्बाले आगामी ग्रीष्मकालीन पर्यटन मौसमलाई ध्यानमा राख्दै सिक्किम सरकारले राज्यको हवाई र सडक सम्पर्क सुनिश्चित गर्नका लागि सम्बन्धित केन्द्रिय मन्त्रालयहरू र केन्द्रिय एजेन्सीहरूसँग उच्च-स्तरीय वार्ता शुरू गरिसकेको जानकारी गराएका छन्। उनले यस हप्ताको शुरुमा पाकिम हवाई अड्डा र राष्ट्रिय राजमार्ग 10 को सुचारु सञ्चालन सुनिश्चित गर्न केन्द्रिय नागरिक उड्डयन मन्त्री र एनएचआईडीसीएलका शीर्ष अधिकारीहरूसँग भेट गरेको पनि जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / बिशाल