सिक्किम राज्य महिला सशक्तिकरणको जीवन्त उदाहरण हो: राज्यपाल
सिक्किम राज्य महिला सशक्तिकरणको जीवन्त उदाहरण हो: राज्यपाल


गान्तोक, 11 मार्च (हि.स.)। रानीपुलस्थित केन्द्रिय कृषि विश्वविद्यालयमा आज पुण्यश्लोक देवी अहिल्या बाई होलकर त्रिशताब्दी जयन्ती वर्ष समारोह आयोजन गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथिको रूपमा सम्मिलित बने।

राज्यपालले आफ्नो सम्बोधनमा होलकर साम्राज्यकी महारानी अहिल्या बाई होलकरको जीवन महिलाहरूको निम्ति मात्र होइन, तर सम्पूर्ण मानव जातिको निम्ति पनि अनुकरणीय उदाहरण रहेको बताए। उनले कार्यक्रममा उपस्थित सबैलाई आफ्नो गौरवशाली इतिहासको बारेमा जानकारी लिन आह्वान गरे।

राज्यपालले विभिन्न कालखण्डमा महिलाहरूको योगदानमाथि प्रकाश पार्दै महिला सशक्तिकरणका वर्तमान पक्षमाथि पनि सबैको ध्यान आकर्षित गराए। सिक्किमको ग्रामीण क्षेत्रहरू भ्रमणका अनुभवहरू साझा गर्दै उनले भने, सिक्किम राज्य महिला सशक्तिकरणको जीवन्त उदाहरण हो। यहॉंका अधिकांश महिलाहरू स्वावलम्बी एवं आत्मनिर्भर छन्। महिलाहरूले राज्य र देशको जीडीपीमा महत्वपूर्ण योगदान दिइरहेका छन्।

मुख्य अतिथि माथुरले आफ्नो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाईमा नारी सशक्तिकरणको निम्ति उठाइएका उल्लेखनीय कदमहरूको बारेमा पनि जानकारी गराए। उनले नारी वन्दन अधिनियम र तीन तलाक बिलको उल्लेख गर्दै भने, यी कानुनहरूले महिलाहरूको स्थितिलाई सुदृढ़ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

कार्यक्रमको आयोजन महिला समन्वय समिति र संस्कार भारतीले संयुक्तरूपमा गरेको थियो। कार्यक्रममा विभिन्न वक्ताहरूले पुण्य श्लोक माता अहिल्या बाई होलकरको धार्मिक र सामाजिक कार्यहरूमाथि प्रकाश पारेका थिए। यस अतिरिक्त, माता अहिल्या बाई होलकरको जीवन र कार्यहरूमाथि आधारित समूह गीत र लोक नृत्य पनि प्रस्तुत गरिएको राजभवनले विज्ञप्तिमा जानकारी गराएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande