चियाबारी श्रमिकहरुलाई लिएर राजनीति गर्नुभन्दा गोर्खाको मुद्दामा एक बन्न सक्नुपर्छ: पेम्बा रिम्पोर्छे
चियाबारी श्रमिकहरुलाई लिएर राजनीति गर्नुभन्दा गोर्खाको मुद्दामा एक बन्न सक्नुपर्छ: पेम्बा रिम्पोर्छे


खरसाङ, 11 मार्च (हि.स.)। चियाबारी श्रमिकहरुलाई लिएर बेसी राजनीति भएको र यो बन्द गरिनु पर्ने बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै चियाबारी श्रमिकहरुलाई लिएर बेसी राजनीति भइरहेको छ भन्दै चियाबारी श्रमिकहरु सोझो छन्, तर लाटो भने छैनन्‌ भनी बताए।

उनले भने, यो 21औं शताब्दी हो र चियाबारी श्रमिकहरुले‌ पनि सबै बुझेका छन्। किन सबैले चियाबारीमा‌ राजनीति गरिरहेका छन्? आज श्रमिकहरुको काँधमा राखेर बन्दुक पड्काउने कार्य भइरहेको छ। तर श्रमिकहरुलाई परेको बेला भने कसैले‌ सहयोग गर्दैनन्।'

पेम्बा रिम्पोर्छेले भने, 'पहाडका नेतृत्वहरू र पहाडमा नेतृत्व गर्नेहरुलाई यो भन्न चाहन्छु कि पहाडमा मुद्दाहरु धेरै छन्, तर चियाबारी श्रमिकहरुलाई लिएर राजनीति नगरेको राम्रो हो। चियापत्ती टिप्नु नटिप्नु श्रमिकहरुले जान्दछन्। पहाडमा धेरै मुद्दाहरु छन् जस्तै हर घर जल‌ योजना, बेरोजगार समस्या, बाटो घाटो, नगरपालिका, पञ्चायत आदि। तर चियाबारी श्रमिकहरुलाई लिएर नै राजनीति किन? चियाबारी श्रमिकहरु अहिले मागिखाने भाँडो नै भएको छ, जसरी पहिला गोर्खाल्याण्ड मागिखाने भाँडो थियो।'

बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले पहाडमा मुद्दाको लागि लड्नु नै हो भने गोर्खाको मुद्दामा एक हुनुपर्छ भनी सुझाउ दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande