सिक्किममा राजनीतिक स्थिरता र शान्तिमय परिवेशका कारण लगानीकर्ताहरूले निवेश गरिरहेका छन्: मुख्यमन्त्री
गान्तोक, 11 मार्च (हि.स.)। नाम्ची जिल्ला अन्तर्गत नाम्ची सिङ्गीथाङ समष्टिको रोङबुल जीपीयू अन्तर्गत सिङताम वार्डमा निर्माण हुने सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटीको आज मुख्यमन्त्री प्रेमसिंह तामाङले विधिवत शिलान्यास गरे। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्णकुमारी राई, सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापा, मन्त्रीद्वय भोजराज राई र राजु बस्नेत, क्षेत्र विधायक सतिशचन्द्र राई, विधायकद्वय रिकसल दोर्जी भोटिया र एनबी प्रधान, नाम्ची नगर पञ्चायत अध्यक्ष गणेश राई लगायत अन्य गन्यमान्य व्यक्तिहरू उपस्थित थिए।
शिलान्यास कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले धेरै गाउँ बस्तिहरूलाई विकास गर्न दुर्गम स्थानहरूमा यस्ता विश्वविध्यालय लगायतका विविध शैक्षिक पूर्वाधारहरू स्थापना गर्ने कार्य वर्तमान एसकेएम सरकारले गरिरहेको बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा यस्ता पूर्वाधारहरू पुऱ्याउने कार्य भइरहेको जानकारी गराए। उनले यो पूर्वाधार निर्माणले रोङबुल जीपीयुलाई चिनाउने कार्य हुने बताउँदै यो विश्वविद्यालयको निर्माणले यस क्षेत्रको विकास र प्रगति हुने बताए।
मुख्यमन्त्रीले यो केन्द्रको निर्माणले स्थानीयहरूलाई धेरै लाभ पुग्ने बताउँदै सिक्किममा राजनीतिक स्थिरता र शान्तिमय परिवेशका कारण लगानीकर्ताहरूले निवेश गरिरहेको अवगत गराए। नाम्ची सिङ्गीथाङमा विकासका धेरै कार्यहरूको योजनाबारे अवगत गराउँदै मुख्यमन्त्रीले आगामी 21 मईमा राज्य स्थापनाको 50औं वर्षगाँठको अवसरमा नाम्चीमा निर्मित 5 सय बेडको अस्पताल देशका प्रधानमन्त्री नरेन्द्र मोदीको बाहुलीबाट विधिवत रूपमा उद्घाटन गरिने जानकारी गराए।
नाम्ची जिल्लामा भइरहेका विविध विकासीय पूर्वाधारहरूको उल्लेख गर्दै मुख्यमन्त्रीले यहाँ राई समुदायको माङखिम निर्माण कार्य भइरहेको र ब्रह्मकुमारी योग केन्द्र लगायतका विविध धार्मिक पूर्वाधारहरू पनि निर्माण गर्ने कार्य भइरहेको अवगत गराए। सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटीको निर्माणपछि यहाँ नर्सिङ, इन्जिनियरिङ एण्ड टेक्नोलोजी, कम्प्युटर साइन्स एण्ड इन्फरमेशन टेक्नोलोजी, कमर्स एण्ड म्यानेजमेन्ट, आर्टस, ह्युमानिटिज एण्ड सोसियल साइन्स, लाइब्रेरी एण्ड इन्फर्मेशन साइन्सेज, भोकेशनल स्टडिजमा पर्यटन, कृषि, होटल म्यानेजमेन्ट, फार्मेसी, कानुन, स्कूल अफ साइन्स र एमबीबीएस आदि अध्ययनको सुविधा रहने मुख्यमन्त्रीले जानकारी गराए।
आगामी पाँच वर्ष भित्रमा नाम्चीमा मेगा वाटर सप्लाई योजना मार्फत पिउने पानीको उपलब्धता गराउने प्रतिबद्धता प्रकट गरे। उनले नाम्चीमा वृहत रिक्रेशन पार्क र वेलनेस सेन्टर, नयाँ सचिवालय तथा वैकल्पिक खेल मैदान र अतिथिगृह आदि निर्माण गरिने घोषणा गरे।
सिक्किममा उच्च शिक्षा र प्राविधिक तालिम बढाउने दिशामा सरकारको यो एक प्रमुख कदम हो। यो विश्वविद्यालयले अत्याधुनिक सुविधाहरू, विविध प्रकारका प्राविधिक तथा व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्नुका साथै यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ। यसले विद्यार्थीहरूलाई द्रुत गतिमा विकसित भइरहेको विश्वव्यापी रोजगार बजारमा फस्टाउन आवश्यक सीपहरू प्रदान गर्न, स्थानीय युवाहरूलाई सशक्त बनाउन र सिक्किमलाई नवप्रवर्तन र प्राविधिक उत्कृष्टताको केन्द्रको रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
हिन्दुस्थान समाचार / प्रदीप