गान्तोक, 11 मार्च (हि.स.)। राज्य खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतको अगुवाईमा सोमवार विभागका अधिकारीहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी निवास मिन्तोकगाङमा भेट गरे। यस भेट अवधि मन्त्री बस्नेत र अधिकारीहरूको टोलीले आगामी 17 देखि 20 मार्च, 2025 सम्म आयोजना हुने 8औं उत्तर पूर्व युवा महोत्सवमा उपस्थितिको लागि मुख्यमन्त्रीलाई निमन्त्रणा दिए।
उक्त प्रतिष्ठित उत्तर पूर्व महोत्सवको उद्घाटन र समापन समारोह पाल्जोर स्टेडियममा आयोजना हुनेछ भने विभिन्न प्रतिस्पर्धात्मक र गैर-प्रतिस्पर्धात्मक कार्यक्रमहरू एमजी मार्ग, नरबहादुर भण्डारी सरकारी कलेज र चिन्तन भवनमा आयोजना गरिनेछ।
भेटको क्रममा खेलकुद तथा युवा विकास गतिविधिहरू र पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न मुद्दाहरूमाथि छलफल पनि भएको विभागले विज्ञप्तिमा जनाएको छ। विभागकी सचिव याङछेन डी. तामाङ मुख्यमन्त्रीको निर्देशनमा विभागले शुरु गरेका प्रमुख गतिविधिहरूको बारेमा जानकारी गराइन्। उनले सिक्किम राज्यको स्वर्ण जयन्ती समारोहलाई ध्यानमा राख्दै 'सुनौलो, समृद्ध अनि समर्थ सिक्किम' थीममा आधारित विभागका आगामी गतिविधिहरूको बारेमा पनि जानकारी दिइन्।
हिन्दुस्थान समाचार / बिशाल