पाकिम, 11 मार्च (हि.स.)। राज्य महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चाले आज पाकिम जिल्लाको असम लिङजेमा हाफवे होमको उद्घाटन गरे। मानसिक रोगबाट निको भएका व्यक्तिहरूलाई पुनर्वास सहयोग प्रदान गर्न विभागले यो सुविधा निर्माण गरेको हो।
विभागले विज्ञप्तिमा भनेको छ, मानसिक स्वास्थ्य संस्थाहरूमा उपचार पाएका तर समाज वा आफ्ना परिवारमा पुन: एकीकरणको लागि अझै तयार नभएका व्यक्तिहरूको लागि हाफवे होम एक संक्रमणकालीन पुनर्वास केन्द्रको रूपमा काम गर्छ। यसले उनीहरूलाई पुन: स्वतन्त्रता प्राप्त गर्न र उनीहरूको कल्याण सुधार गर्न मद्दत गर्न संरचित सहयोग प्रदान गर्नेछ।
आफ्नो सम्बोधनमा मन्त्री लेप्चाले हाफवे होमको स्थापनाप्रति खुशी व्यक्त गर्दै मानसिक रोगबाट निको भएका व्यक्तिहरूलाई पुनर्वास र संरचित सहयोग प्रदान गर्न यसको महत्त्वमाथि प्रकाश पारे। उनले यस्ता व्यक्तिहरूको कल्याण सुनिश्चित गर्न समाजको सामूहिक जिम्मेवारीमा जोड दिॅंदै सबै सरोकारवालाहरूलाई उनीहरूको हेरचाह र पुनः एकीकरणमा योगदान दिन आग्रह गरे।
मन्त्रीले यस प्रयासलाई समर्थन गर्न सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई कृतज्ञता व्यक्त गरे भने उनीहरूको समर्पणलाई 'सुनौलो अनि समृद्ध सिक्किम' को दृष्टिकोण साकार पार्ने दिशामा एक कदम रहेको ठहर गरे। उनले असहाय व्यक्तिहरूलाई हेरचाह र सहयोग प्रदान गर्दै आएको मायाल्मु शेल्टर होमको प्रयासको पनि सराहना गरे।
हिन्दुस्थान समाचार / बिशाल