सोनादा, 11 मार्च (हि.स.)। ऐतिहासिक तथा पौराणिक तथ्यहरू दार्जिलिङ पहाडमा नभएको होइन। दार्जिलिङ पहाड नै इतिहासको मूल हो। यहाँ ऐतिहासिक, धार्मिक, पौराणिक तथ्यहरू अझै पनि इतिहासको भूगर्भमा लुकेर बसेको छ। भूतत्व तथा उत्खनन वैज्ञानिकहरूको दृष्टि यहाँ नपरेको वा विभागीय रूपमा उदासिनता रहेको हो, जसले गर्दा पहाडमा भएका यस्ता ऐतिहासिक तथ्यहरू अझैसम्म बाहिर आउन सकेका छैनन् तथा देखा परेका यस्ता घटनाहरूलाई अदेखा गरिएका छन्।
विगत धेरै समयअघि यहाँको सोनादास्थित चन्द्रमानधुरामा देखा परेको शिला, जसलाई 'शङ्खे ढुङ्गा' पनि भनिन्छ, एउटा प्रत्यक्ष उदाहरण हो। यो ढुङ्गा न कसैले यहाँ ल्याएको हो न यसलाई कसैले खोपेर बनाएको हो। परापूर्वकालदेखि प्राकृतिक रूपमा अवस्थित यो ढुङ्गा अझै पनि इतिहास बोकेर त्यतिकै उभिरहेको छ। यस ढुङ्गा सम्बन्धि केही किंवदन्तीहरू पनि छन्।
ती मध्ये स्थानीय निवासीहरू अनुसार, धेरै वर्षअघि यहाँका बाजे बोज्यु (पितापुर्खा) ले यस ढुङ्गामा नटेक्नु, फोहोर मैला नगर्नु भन्थे। विगतमा यहाँ एउटा ठूलो शङ्ख थियो, तर यहाँ फोहोर मैला गरेकाले उक्त शङ्ख उडेर गएको बताउँछन्। प्रमाणका रूपमा अझै पनि यहाँ साक्षात् शङ्ख आकारको दृश्य देख्न सकिन्छ।
तिनीहरूले थप जानकारी दिए अनुसार, सन् 1963-64 सालमा यस चियाबारी भेगमा अङ्ग्रेज मालिकहरूले सडक खन्ने काम गरेका थिए। अङ्ग्रेज शासकहरूले हिन्दू धर्मप्रति कुनै सहिष्णुता नराखेकै कारण तिनीहरूले उक्त ढुङ्गामा चुना लगाउने, टेक्ने, फोहोर गर्ने काम गरे, जसको प्रतिफल स्वरूप ती चुना लगाउने एकको आँखा अन्धो भएको, ती अङ्ग्रेज मालिक गाडी दुर्घटनामा परेको कुरा यस गाउँका बुजुर्ग प्रकाश राईले बताएका छन्।
उनीहरू यस शङ्खे ढुङ्गाको माथि छानामा सा-सानो शङ्खहरू र मालाका आकार रहेकाले यो ठाउँ पक्कै पनि धार्मिक ऐतिहासिक स्थल रहेको दावी गर्छन्। वर्तमान समयमा पनि यो स्थान स्थानीय मानिसहरूको आस्थाका केन्द्रका रूपमा रहेको छ। जहाँ आस्था र विश्वास छ, त्यहाँ धर्म र सत्य बाँचेको हुन्छ। यो स्थान धार्मिक सहिष्णुताको केन्द्रको रूपमा मात्र नरहेर ऐतिहासिक, पुरातात्त्विक विषयसित पनि सम्बन्ध हुनसक्छ। वर्तमान जीटीए व्यवस्थाले यस विषयमा पहल गरे, यो क्षेत्र एक धार्मिक पर्यटन स्थलको रूपमा विकसित हुन सक्छ भन्ने स्थानीय विज्ञहरूको विश्वास रहेको छ।
हिन्दुस्थान समाचार / हनोक