दार्जिलिङ, 02 मार्च (हि.स.)। दार्जिलिङ तराई डुवर्स चिया सुरक्षा समितिले आयोजनामा गरेको 24 घण्टे अनशन समाप्त भएको छ। आज अनशन समाप्त गर्दै चौरस्ता परिसरमा चियाबारी सम्बन्धी जारी गरिएको तीनवटा सरकारी अधिसूचनाहरु दहन गरियो।
श्रमिक एकता जिन्दावादको चर्को नाराबीच दार्जिलिङ तराई डुवर्स चिया सुरक्षा समितिकी अध्यक्षा एवं अधिवक्ता बन्दना राईले उक्त अधिसूचनाहरु च्यातिदिएपछि जलाइएको छ। अर्कोतिर टी टुरिजम, 5 डेसिमल अनि 30 प्रतिशत भूमि आवण्टनबारे जारी सबै अधिसूचनाहरु फिर्ता लिनुपर्ने मागमा अडिग दार्जिलिङ तराई डुवर्स चिया सुरक्षा समितिले चियाबारी क्षेत्रमा विरोध प्रदर्शनीसँगै भोलिदेखि शुरू हुने उच्च माध्यमिक परीक्षा समाप्त भएपछि उत्तर कन्यासम्म वृहत प्रतिवाद जुलुस गर्ने अधिवक्ता राईले चेताउनी दिएकी छन्।
हिन्दुस्थान समाचार / हनोक