खरसाङ, 04 मार्च (हि.स.)। खरसाङ नगरपालिकाकाे कर्मबन्धुहरुका समस्या लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका पदाधिकारीहरु नगरपालिकामा पुगे। खरसाङ नगरपालिकामा कार्यरत् कर्मबन्धुहरुलाई भइरहेको समस्या साथै उनीहरूलाई वैकल्पिक रूपमा कार्य गराउने विषय लिएर उत्पन्न भएको समस्याकाे समाधान गर्नका लागि पार्टीकाे खरसाङ टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिन, कार्यकारिणी सदस्य विकाश तामाङ र प्रचार प्रसार सचिव सञ्जय रावत अनि स्थानीय 28 नम्बर चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पाले नगरपालिकाको उपाध्यक्ष सुभाष प्रधानसँग भेटघाट गरेका छन्।
यस सम्बन्धमा उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकामा पन्ध्र पन्ध्र दिनकाे निम्ति क्याजुअल कर्मबन्धु लगाएर कार्य गराउने व्यवस्था अघिदेखि नै रहेकाे अवगत गराए। यस विषयलाई पुनः लागू गर्न हेतु नै कार्यालयकाे सेनेटरी विभागका अधिकारीसँग रिपोर्ट लिएपश्चात नगरपालिकाको बीओए सभामा प्रस्ताव पारित गरिएकाे टाउन कमिटीलाई जानकारी गराए।
खरसाङ टाउन कमिटीले नगरपालिकाका कर्मबन्धु कर्मचारीले धेरै वर्षदेखि सरसफाईको कार्य गरेर आफ्नो जीविका चलाइरहेकाे र वैकल्पिक रूपमा सफाईकाे कार्य गराउने जुन प्रस्ताव नगरपालिकाको बीओए सभामा पास गरिएकाे छ त्यसलाई पुनः संसाेधन गरी उनीहरुलाई पहिले झैं कार्य दिने निवेदन गरेकाे छ। त्यसलाई उपाध्यक्ष सुवास प्रधानले स्वीकार गर्दै अध्यक्ष
ब्रीगेन गुरूङसॅंग बात गरेर विचार गरी आगामी दिनमा पुनः एउटा नगरपालिकाको बीओए सभा डाकेर प्रस्तावमा परिवर्तन गर्ने आश्वासन दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक