दिव्य थियोलोजिकल ओपन विश्वविद्यालय पुस्तकालयमा वरिष्ठ साहित्यकारको भ्रमणको समापन
दिव्य थियोलोजिकल ओपन विश्वविद्यालय पुस्तकालयमा वरिष्ठ साहित्यकारको भ्रमणको समापन


गेजिङ, 04 मार्च (हि.स.)। दिव्य थियोलोजिकल ओपन विश्वविद्यालयद्वारा सञ्चालित पुस्तकालयमा राज्यभरिका विभिन्न साहित्यिक संगठनका प्रतिनिधिहरू र वरिष्ठ साहित्यकारहरूको विशेष भ्रमणको समापन भयो। दक्षिण जिल्लाको नाम्चीमा अवस्थित दिव्य थियोलोजिकल ओपन विश्वविद्यालयद्वारा सञ्चालित पुस्तकालयमा पश्चिम सिक्किम साहित्य प्रकाशनका सदस्यहरू तथा ख्यातिप्राप्त साहित्यकारहरूलाई विश्वविद्यालयका कुलपति डा. मनोज कुमार राइले स्वागत जनाए।

गत छ महिनादेखि सञ्चालनमा रहेको यस पुस्तकालयले साहित्यिक तथा धार्मिक अध्ययनमा रुचि राख्ने विद्यार्थी, शोधकर्ता तथा पाठकहरूलाई मूल्यवान पुस्तकहरू उपलब्ध गराउँदै आएको छ। हालै विश्वविद्यालयले पुस्तकालयको समृद्धि तथा पुस्तक संग्रह विस्तारका लागि विशेष कार्यक्रमको आयोजना गरेको छ, जस अन्तर्गत विभिन्न साहित्यिक संस्थाहरू र प्रतिष्ठित लेखकहरूबाट महत्वपूर्ण कृतिहरू संकलन गरिएको छ।

पुस्तकालयको अवलोकनको क्रममा साहित्यकारहरूले यसको संरचना, पुस्तकहरूको विविधता र अध्ययनका लागि उपलब्ध सुविधाहरूको उच्च प्रशंसा गरेका थिए। उनीहरूले सिक्किमको साहित्यिक तथा बौद्धिक उत्थानका लागि यस्ता पुस्तकालयहरूको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरे। यस पुस्तकालयले ज्ञानको ज्योति फैलाउने र साहित्यिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

विश्वविद्यालय प्रशासनले आगामी दिनमा पुस्तकालयलाई अझ व्यवस्थित गर्दै विभिन्न शोध तथा साहित्यिक छलफल कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ। स्थानीय तथा बाह्य साहित्यप्रेमीहरूको सक्रिय सहभागिताले पुस्तकालयलाई अझ समृद्ध तुल्याउने अपेक्षा गरिएको छ। यो पुस्तकालय सबैको लागी सँधै खुल्ला रहने पनि कुलपति राइले जानकारी गराए। आजको यस भ्रमण अवसरमा पद्मश्री केदार गुरुङ, पश्चिम सिक्किम साहित्य प्रकाशनका अध्यक्ष रिकिलामु लेप्चा,उपाध्यक्ष दलमान पीर लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande