सिक्किमका कलाकारहरूलाई नोकरीमा आरक्षण प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा
सिक्किमका कलाकारहरूलाई नोकरीमा आरक्षण प्रदान गर्ने मुख्यमन्त्रीको घोषणा


नाम्ची, 04 मार्च (हि.स.)। भोइस अनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको संस्कृतिक प्रकोष्ठको संयुक्त तत्वावधानमा आज नाम्चीको टाउन हलमा आयोजित तीन दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलनको आज समापन भयो। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसैगरी, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

तीन दिवसीय समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा आयोजक समितिलाई बधाई दिए। उनले राज्यका कलाकारहरूलाई प्रोत्साहन दिन साथै एक आपसमा मिलमिलाप बढाउनको निम्ति यो सम्मेलन आयोजन गरिएको बताए। उनले यस प्रकारको कार्यक्रम केवल चुनाउको मुखमा प्रोपोगाण्डा नगरेर आफू कलाकारहरूको साँचो साथी रहेको हुनाले कलाकारहरूको निम्ति धेरै कार्य गरिरहेको किटान गरे।

कलाकारहरूलाई सशक्त बनाउन अघिबाटै सिक्किम आर्ट कल्चर एण्ड हेरिटेज बोर्डको गठन गरेको अनि 1 करोड रुपियाँको धनराशि छुट्याइसकेको पनि जानकारी गराए। अब चाँडै यो बोर्डको अध्यक्ष नियुक्त गरिने मुख्यमन्त्री तामाङले घोषणा गरे। योसँगै आज सम्मानित कलाकारहरूबाट चयन गरेर स्वतन्त्र दिवस अनि गणतन्त्र दिवसमा राज्य पुरस्कार प्रदान गरिने पनि उनले घोषणा गरे।

कलाकारहरू राज्यका राजदूत रहेको हुनाले कलाकारहरूको भरोसा एसकेएम सरकार अनि सरकारको भरोसा कलाकारहरूमाथि रहेको बताउँदै अब चॉंडै कलाकारहरूको निम्ति पनि नोकरीमा आरक्षण गरिने उनले घोषणा गरेका छन्। कलाकारहरूको निम्ति काम गरिरहँदा फेसबुकमा नकारात्मक अभिव्यक्ति दिनेहरूले जहिल्यै नकारात्मक कुरानै गरिरहने अनि उनीहरूको कुरामाथि ध्यान नदिन पनि उनले आग्रह गरे।

आजको कार्यक्रममा नेपालका कलाकारहरू तक्मे बुडा (विल्सन विक्रम राई), फुलन्देकी आमा अनि मिरिकका अमुइनी समूहले पनि प्रस्तुति दिएका थिए। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट पद्मश्री पुरस्कारको निम्ति मनोनित नरेन गुरूङ, निर्माता-निर्देशक उगेन छोपेल भोटिया अनि निर्देशक प्रशान्तलाई विशेष सम्मान जनाइयो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande