कोलकाता, 5 मार्च (हि.स.)। नदिया जिल्लामा तृणमूल कंग्रेसकी एकजना पंचायत समिति प्रमुखको नाम दुई अलग-अलग विधानसभा क्षेत्रको मतदाता सूचीमा दर्ता भएको मामिला सामु आएको छ। यसको खुलासा भएपछि तृणमूल कंग्रेस ब्याकफुटमा आएको छ। पंचायत समिति प्रमुखले दुवै ठाउँ भोट लगाउँदै आइरहेको पनि थाहा लागेको छ।
यस मामिलामा जसको नाम मुछिएको छ ती हुन् कल्याणगंज पंचायत समितिकी प्रमुख शेफाली खातून। उनको नाम दुईवटा विधानसभा क्षेत्र क्रमैले नकाशीपाड़ा र कल्याणगञ्जको मतदाता सूचीमा दर्ता रहेको पाइएको छ। दुवै क्षेत्र नदिया जिल्लाभित्रै पर्दछन्।
यस मामिलालाई लिएर भारतीय जनता पार्टी (भाजपा)-ले चुनाउ आयोग तथा पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी समक्ष सिकायत गरेको छ। भाजपाले दस्तावेज सुम्पिँदै आरोप लगायो, एकजना व्यक्तिको दुई अलग-अलग विधानसभा क्षेत्रको भोटर कार्ड हुनु भनेको चुनावी गड़बढ़ीको प्रमाण हो।
मीडियासितको बातचितमा शेफाली खातूनले भनिन्, पहिला हामी नकाशीपाड़ामा बस्थ्यौं, त्यसैले मेरो नाम त्यहाँको मतदाता सूचीमा थियो। पछि हामी कल्याणगञ्जको देबग्राममा बसाई सरेपछि यहाँको मतदाता सूचीमा नाम जड़ियो। नकाशीपाड़ाको सूचीमा मेरो नाम अहिलेसम्म दर्ता छ भन्ने कुरा मलाई थाहा थिएन।
भाजपाले शेफाली खातूनको उक्त स्पष्टिकरणमाथि कटाक्ष गर्दै भन्यो, प्रशासनसित सम्बन्धित जिम्मेवार व्यक्तिको यस्तो बयान हाँस्यस्पद छ। विवादपछि चुनाउ आयोगले कारबाही गर्दै नकाशीपाड़ा विधानसबा क्षेत्रको मतदाता सूचीबाट शेफाली खातूनको नामलाई हटाइदिएको छ।
चाखलाग्दो कुरा यहाँ के छ भने गए सप्ताह तृणमूल कंग्रेसको विस्तारित बैठकमा मुख्यमन्त्री ममता ब्यनर्जीले भाजपामाथि पश्चिम बंगालको मतदाता सूचीमा अऩ्य राज्यका मानिसहरूको नाम जोड़ेको आरोप लगाएकी थिइन्। उनले दाबी गरेकी थिइन्, दुई राज्यका मतदाताहरूको एउटै जस्तो मतदात पहिचान पत्र (ईपीआईसी नम्बर)- को मामिला सामु आएको छ। यसबीच ममता ब्यनर्जीकै पार्टीका नेताको दुई विधानसभा क्षेत्रमा अलग-अलग मतदाता कार्ड रहेको खुलासा भएपछि उनको दाबी प्रश्नहरूको घेरोभित्र परेको छ।
गए आइतवार चुनाउ आयोगले ममता ब्यनर्जीका उपरोक्त आरोपहरूमाथि प्रतिक्रिया दिँदै बयान जारी गरेको थियो। आयोगले भनेको थियो, एउटै जस्तो ईपीआईसी नम्बर हुनुको अर्थ नक्कली वा डुप्लिकेट मतदाता हुँदैन। आयोगले यो पनि स्पष्ट पारेेको थियो, अलग-अलग राज्य वा केन्द्रशासित प्रदेशहरूमा एउटै जस्तो अल्फान्यूमेरिक सीरीजको कारणले यसतो मामिला सामु आउनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा