- यस केन्द्रले राज्यका बिरामीहरूलाई महत्त्वपूर्ण चिकित्सा सहयोग प्रदान गर्नेछ: मुख्यमन्त्रीसिलगढ़ी, 05 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिलगढ़ीस्थित एसएनटी कम्प्लेक्समा 'हेल्थ केयर सेन्टर एण्ड गेस्ट हाउस बिल्डिङ' निर्माणको निम्ति आज विधिवत शिलान्यास गरेका छन्। यस पूर्वाधारको निर्माणले सिक्किमका यात्रु, सरकारी कर्मचारी र बिरामीहरूलाई दीर्घकालीन लाभ पुर्याउने अपेक्षा गरिएको छ, जसले सिक्किमका जनताका लागि सार्वजनिक सेवा, यातायात र स्वास्थ्य सेवालाई अझ बढावा दिनेछ।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सिक्किमको लागि यस विकासको ऐतिहासिक महत्त्वमाथि प्रकाश पारे। उनले नयाँ परिसरमा विभिन्न अन्य सरकारी कार्यालयहरूसँगै एसएनटी कार्यालय पनि रहने बताए, जसले प्रशासनिक कार्यहरूलाई एउटै छानामुनि सुव्यवस्थित गर्नेछ।
यस अतिरिक्त, सिक्किम स्वास्थ्य सेवा केन्द्रले विशेष गरी उपचारको लागि यात्रा गर्ने सिक्किमका गरिबी रेखामुनिका बिरामीहरूलाई महत्त्वपूर्ण चिकित्सा सहयोग प्रदान गर्नेछ उनले बताए। मुख्यमन्त्रीले यो पहलको उद्देश्य राज्य बाहिर स्वास्थ्य सेवाका लागि आउने आर्थिक रूपमा कमजोर वर्गले सामना गर्ने चुनौतीहरूलाई कम गर्नु रहेको बताए।
मुख्यमन्त्रीले सिक्किमका जनतालाई यस प्रगतिशील कदमको लागि हार्दिक बधाई दिँदै सरकार पूर्वाधार विस्तार र नागरिक कल्याणप्रति प्रतिबद्ध रहेको बताए। उनले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी र सिलगढी नगर निगमका मेयर गौतम देवलाई पनि यो महत्वपूर्ण पूर्वाधार विकासलाई सहज बनाउन सहयोग गरेकोमा आभार व्यक्त गरे। सिलगढीमा सिक्किमेली नागरिकहरूले उन्नत सेवा र सुविधाहरू प्राप्त गर्ने कुरा सुनिश्चित गर्न उनीहरूको सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्रीले बताए।
कार्यक्रमको शुरुवात पूर्वाधारको सफल निर्माणको लागि ईश्वरसॅंग आशीर्वाद माग्दै विधिवत भूमि पूजाबाट भएको थियो। कार्यक्रममा भवन तथा आवास विभागका अधिकारीले यस महत्वकांक्षी परियोजनाको बारेमा विस्तृत जानकारी गराएका थिए। प्रस्तावित कार्यालय परिसर पाँच तल्ले हुनेछ भने स्वास्थ्य सेवा केन्द्र दश तल्ले अग्लो हुनेछ, जसले विभिन्न सरकारी कार्यालयहरू र चिकित्सा सेवाहरूको लागि पर्याप्त ठाउँ सुनिश्चित गर्नेछ।
कार्यक्रममा विधानसभा अध्यक्ष एमएन शेर्पा, मन्त्रीगण, विधायकगण, सल्लाहकारगण, अध्यक्षगण, विभिन्न विभागका प्रमुखहरू, एसएनटीका कर्मचारीहरू तथा अन्य गणमान्य अतिथिहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल