पवन चामलिङ सिक्किम दार्जिलिङ विलयको पक्षमा देखिएको एसकेएमको आरोप
सीपी शर्मा


गान्तोक, 05 मार्च (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको वक्तव्यलाई अत्यन्त फ्यातुलो, असान्दर्भिक एवं मनगढन्ते ठहर गरेको छ। आफू सत्ताबाट मात्र होइन सबै निर्वाचन क्षेत्रबाट पराजित हुनु अनि आफ्नामा भएका भरिला साथीहरूसम्मले भटाभट पार्टी छोड्दै जानुले पवन चामलिङको राजनीति समाप्त भएको घोषणा नै मान्न सकिन्छ भनी एसकेएमले बताएको छ।

एसडीएफको 33औं स्थापना दिवसमा पार्टी अध्यक्ष पवन चामलिङले दिएको वक्तव्यमा प्रतिक्रिया जनाउॅंदै एसकेएम पार्टीले उक्त बयान दिएको हो। एसकेएम प्रवक्ता सीपी शर्माले विज्ञप्तिमा भनेका छन्, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र पार्टी अध्यक्षको लोकप्रियता बढ्दै जाँदा पवन चामलिङको वक्तव्यमा उत्ताउलो र आतेस आउनु स्वाभाविक हो। आफू सत्ता, शक्ति र राजनीतिबाट पराजित बन्दै गएपछि सिक्किमलाई बिरामी देख्नु आफू मानसिक रोगले ग्रसित बनेको प्रमाणित हुन्छ।

उनले अझ भनेका छन्, आफू सत्तामा रहुञ्जेल उनै नरबहादुर भण्डारीको छायाँसम्मलाई खेदो गर्ने पवन चामलिङले आज उनै नरबहादुर भण्डारीको प्रशंसा गर्नु भनेको स्यालले मुखको रगत पुछेर कुखुरालाई 'म तिम्रो साख्खै मीत हूँ नी' भन्नु हो। नेपाली भाषाले मान्यता पाएपछि भाषा संग्रामी नरबहादुर भण्डारीलाई एउटा फूलको थुँगोसम्म नदिने पवन चामलिङले आज आफू हारेपछि स्मरण गर्नु लाजमर्दो कुरा हो। आफ्नो सत्ताभरि नै गाली गरिएका नरबहादुर भण्डारीले गरेका कामको चर्चा गर्नु भनेको उनको बोक्रे प्रवृत्ति उजागर हुनु हो।

चामलिङले सिक्किम दार्जिलिङ एकीकरण सम्भव छ भन्ने जस्तो बयान दिनुले उनी यो विषयको पक्षमा रहेको स्पष्ट भएको एसकेएम पार्टीले बताएको छ। एसकेएमले चामलिङको उक्त बयानलाई सिक्किमे जनता विरुद्ध ठहर गरेको छ। 'वर्तमान मुख्यमन्त्री पीएस गोले साथै केन्द्रिय गृहमन्त्री स्वयंले असम्भव बताइसकेपछि पनि पवन चामलिङलाई किन सम्भव लाग्दैछ? किनकि उनी सिक्किम दार्जिलिङ विलयको पक्षमा देखिएका छन्', एसकेएमले भनेको छ।

एसकेएमले पवन चामलिङको यो सपना कहिल्यै पूरा हुने छैन भन्दै हुँदै नहुने कुरालाई उब्जाएर जनतामा भ्रम फैलाउने नाटकीय प्रवृत्ति र सोंचबाट माथि उठ्ने उनलाई सल्लाह दिएको छ। प्रवक्ता शर्माले अबका जनता 1994 का जनता होइनन्, छैनन् र त्यस्तो नठानिदिने चामलिङलाई सुझाउ एवम् सल्लाह दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande