गान्तोक, 06 मार्च (हि.स.)। आगामी 8 मार्चको दिन रानीपुल नजिक सरम्सा उद्यान परिसरमा आयोजना हुने राज्यस्तरीय अन्तरराष्ट्रिय महिला दिवस समारोहको तयारीलाई लिएर आज विभिन्न उच्चस्तरीय पदाधिकारीहरूले तयारी कार्यको जायजा लिए। उक्त कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिको रूपमा उपस्थित रहनेछन्।
कार्यक्रमको तयारी निरीक्षणको क्रममा आज सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, उपमेयर छिरिङ पाल्देन भोटिया, पाकिम जिल्लाकी जिल्ला पञ्चायत अध्यक्षा लाडेन ल्हामु भोटिया, उपाध्याक्ष प्रभा प्रधान, एसेकएम कानुनी प्रकोष्ठकी प्रभारी पुजा लामिछाने, सिक्किम राज्य ओबीसी बोर्डकी अध्यक्षा पवित्र भण्डारी, राज्य महिला आयोगकी अध्यक्षा टेनी डोमा भोटिया, गान्तोक जिल्ला अध्यक्षा छुङछुङ भोटिया, एसकेएम नारी शक्ति अध्यक्षा बीणा राई आदि उपस्थित थिए।
एसकेएमले विज्ञप्तिमा भनेको छ, 8 मार्चमा हुने कार्यक्रममा सिक्किमका स्वयं सहायता समूहहरूद्वारा स्थानीय शिल्प र खाद्य स्टलहरूको प्रदर्शनी, साथै महिला स्वास्थ्य समस्याहरू, मानसिक स्वास्थ्य र परामर्श सेवाहरूलाई सम्बोधन गर्न स्वास्थ्य स्टलहरू पनि राखिनेछन्। महिला सशक्तिकरणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू र पहलहरूलाई उजागर गर्ने कानुनी सहायता स्टलहरू र सरकारी विभागका स्टलहरू पनि हुनेछन्। कार्यक्रममा विभिन्न क्षेत्रहरूमा उपलब्धि हासिल गर्ने सिक्किमका महिलाहरूलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान जनाइने छ।
हिन्दुस्थान समाचार / बिशाल