मिरिकको चारवटा चियाकमानहरुमा गेटसभा जारी
मिरिकको चारवटा चियाकमानहरुमा गेटसभा जारी


मिरिक, 6 मार्च (हि.स.)। मन्जुश्री कम्पनी अन्तर्गत पर्ने मिरिकका चारवटा चियाकमानहरू मरमा चियाकमान, मन्जु चियाकमान, टिङलिङ चियाकमान अनि सिङ्बुली चियाकमान कार्यालयकाे नाेटिस बाेर्डमा प्रबन्धक पक्षमार्फत मालिकले 'नो वक नो पे' को नोटिस टाँसेपछि बुधबारदेखि चारवटा चियाकमानका चिया कार्यालय परिसरमा चिया श्रमिकहरूले गेटसभाकाे आयाेजना गरेर आफ्नाे माग शीघ्र पूरा गरिदिने प्रबन्धक अनि मालिक पक्षसित माग गरे।

उक्त गेटसभालाई निरन्तरता दिॅंदै आज मिरिरकको सिङ्बुली, मन्जु, टिङलिङ अनि मरमा चियाकमानका चिया श्रमिकहरूले चिया कार्यालय परिसरमा गेट सभाकाे आयाेजना गरे। यस अवसरमा बाेल्दै श्रमिक नेताहरू अनिल राणा, अनिमा राईले चियाकमान मालिक पक्षले चियाकमानमा 'नाे वक नाे पे' काे नाेटिस टाँसे पनि चिया श्रमिकहरू दैनिक काममा गइरहेकाे अवगत गराउँदै चिया श्रमिकहरूले काम बन्द गरेकाे छैन भनी बताए। उनीहरूले चिया श्रमिकहरूकाे माग पूरा नभएसम्म पहिलाे चिया टिपाई गर्दैनाैँ भनी आफ्नो अडान स्पष्ट गरेका छन्।

उनीहरूले चिया श्रमिकहरूकाे धेरै माग रहेकाे, जसमा प्रमुख मागहरू 2025 काे बाेनसकाे प्रतिशत पहिलाे चिया टिपाई अघि नै तय गर्नुपर्ने अनि गत वर्षकाे रहल चार प्रतिशत बाेनस भुक्तान गर्नुपर्ने रहेकाे जानकारी गराउँदै यी मागहरूलाई मालिक पक्षले स्वीकार गरे चिया श्रमिकहरूले पहिलाे चिया टिप्नेछ भनी बताएका छन्। उनीहरूले बुधवारदेखि यी मागहरू शीघ्र पूरा गरियाेस् भनी मन्जुश्री कम्पनी अधीनस्थ चारवटा चियाकमानकाे कार्यालय अघि दुई घण्टा गेटसभा शुरू गरिएकाे जानकारी गराउँदै हामी प्रशासनिक अधिकारीहरूलाई पनि पत्रचार गर्ने बताएका छन्।

उनीहरूले भने, 'चिया कमानकाे माया हामीलाई पनि छ। हामी पनि पहिलाे चिया समयमा नै टिपियाेस भन्ने चाहन्छाैँ। बाेनसकाे बेला जहिले चिया श्रमिकहरू सडकमा निस्कन पर्ने हुनाले याे प्रथा बन्द गराउँदै पहिलाे चिया टिपाई अघि नै बाेनस तय गरियाेस् भन्ने चिया श्रमिकहरूकाे माग रहेकाे छ। मालिकवर्गले हामीलाई फसल उठाएपछि समस्यामा पार्ने गर्छ। यसर्थ फसल उठाउने समयमा हामी हाम्राे माग लिएर अघि सरेकाे छाैँ। हाम्राे माग मालिकवर्गले पूरा गर्नुपर्छ। माग पूरा नभए हामी चिया टिप्ने छैनाैँ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande