इण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा मिरिक खण्ड विकास अधिकारीलाई बुझाइयो ज्ञापन
इण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा मिरिक खण्ड विकास अधिकारीलाई बुझाइयो ज्ञापन


मिरिक, 6 मार्च (हि.स.)। चिया बगानको जमीन अन्य व्यापार उद्योगहरूमा प्रयोग गरिनु हुँदैन भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आज मिरिक खण्ड विकास अधिकारीलाई एउटा ज्ञापन पत्र बुझाएकाे छ। गत 2019 मा राज्य सरकारले चिया बगानको 15 प्रतिशत जमीन पर्यटन क्षेत्रमा प्रयोग गर्ने घोषणा गरिसकेको छ भने अहिले आएर फेरि चिया बगानको 30 प्रतिशत जमीन अन्य व्यापार उद्योगमा प्रयोग गरिने घोषणा गरेको छ।

चिया बगानको जमीन अन्य व्यापार उद्योगमा प्रयोग गरिने राज्य सरकारको घोषणालाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टले घोर विरोध जनाउँदै आइरहेको छ। गत केही सप्ताह अघि मात्र इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मिरिकमा विराट विरोध र्याली निकालेर आफ्नो आक्रोश व्यक्त गरिसकेको छ।

यसै क्रममा आज खण्ड स्तरमा ज्ञापन पत्र बुझाउने कार्य गरिएकाे पार्टीका केन्द्रिय सदस्य प्रशान्त लामाले बताएका छन्। मिरिक खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र चढाएपछि राेजेस थापाले पत्रकारहरुसित कुराकानी गर्दै चिया बगानको जमीन अन्य व्यापार उद्योगमा प्रयोग गरिने राज्य सरकारको निर्णयलाई कदापि स्वीकार्ने छैनौ र चिया श्रमिकहरूको पक्षमा हामी सधै खडा हुने छौँ भनी बताएका छन्। उनले श्रमिकहरूकाे साथमा हामी डटेर रहनेछाैँ भन्दै पहाडका सत्ताधारी दलले चिया‌ श्रमिकहरूलाई धेरै यातना दिने कार्य गरिरहेकाे छ, जसकाे हामी घाेर विराेध गर्दछाै भनी बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande