सोनादा डिग्री कलेजमा लिगल एड क्लिनिकको गठन, कानूनी सेवासम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
Sonada-legal cell


सोनादा, 6 मार्च (हि.स.)। विद्यार्थीहरूलाई कानूनका कतिपय विषयमा जानकारी गराउन हेतु विभिन्न प्रकारका कानूनी प्रक्रियाहरुबारे जनचेतना ल्याउने उद्देश्यले सोनादा डिग्री कलेजको प्रेक्षागृहमा कलेजका भारप्राप्त प्राचार्य डा रागिनी थापाको अध्यक्षतामा कलेजको वुमेन सेल तथा नारी प्रकोष्ठ एवम् दार्जिलिङ जिल्ला लिगल सर्भिस अथोरिटीको संयुक्त आयोजनामा एक जनचेतना कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा कानुनी सेवाबारे दार्जिलिङ डिस्ट्रिक्ट लिगल सर्भिस अथोरिटीका सचिव तथा सेसन डिस्ट्रिक्ट जज छिरिङ याङ्छेन लेप्चाले ज्ञानवर्धक रोचक जानकारीहरू दिएका थिए।

आजका विद्यार्थीहरु केवल किताबी ज्ञानमा मात्र सीमित नरहेर अहिलेदेखि नै विभिन्न विषयका कानुनी प्रक्रियाहरू बारेमा जानकारी राख्नु अति नै आवश्यक रहेको उनले बताइन्। उनले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई पोक्सो अधिनियम र मानव तस्करी सम्बन्धी कानुनहरू बारेमा जानकारी गराइन्।

अठार वर्षभन्दा कम उमेरका नानीहरूले विवाह गर्दा, कसैले नारीहरूप्रति कुनै प्रकारको अपशब्द प्रयोग गर्दा, स्पर्श गर्दा र उनीहरूसँग अभद्र व्यवहार गर्दा कस्ता कस्ता कानुनका साङ्लाहरूले बाँध्न सक्छन् भन्ने कुराको जानकारी दिँदै यस्ता कुकार्यहरुदेखि सदैव टाडा बस्ने सुझाउ दिइन्। वर्तमानमा समाजमा फैलिरहेको मानव तस्करी, नशालु पदार्थ सेवन तथा युवा युवतीहरूमा देखिएको नकारात्मक कुराहरूले समाज अध‍‍‍‍ोगतितिर गइरहेको कुरामा दुःख प्रकट गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरू लगायत समाजका सबै वर्गका मानिसहरू सचेत हुनसक्ने तथा सचेत हुन अनिवार्य रहेको कुरो सचिवले बताइन्।

लोक अदालत जस्ता विषयहरूमा हाम्रा मानिसहरू तथा हाम्रा विद्यार्थीहरुलाई जानकारी हुन सकेमा धेरैवटा कानुनी प्रक्रियाहरू पूरा गर्नमा उनीहरूलाई सजिलो हुने तथ्यहरू पनि उनले सुनाइन्। उनले आफ्नो सम्बोधनमा लिगल सर्भिस अथोरिटीको उद्देश्य, कार्य योजना बारेमा विशेष जानकारी दिँदै यसले पोक्सो, यौन उत्पीडन, जमीन विवाद सम्बन्धी तथा अन्य विभिन्न प्रकारका विवादहरुले जन्माएका अमेलताहरूलाई कोट कचरीको ढोका नढकढकाई कानुनी प्रक्रियाले समाधान गर्न सकिने कुरो उनले बताइन्।

यौन उत्पीडन जस्ता कुराहरु तथा अठार वर्षभन्दा कम उमेरका नानीहरू विवाह बन्धनमा परेका छन् भने त्यसलाई अभिभावकवर्गले, समाजका पदाधिकारीवर्गले तथा सचेत नागरिकले कहिले ढाकछोप गर्न नहुने, बरु उनीहरुलाई कानुनी प्रक्रियाको साङ्लोले बाँध्न सहयोग पुर्‍याउने अपिल गरिन्। यस्ता कार्यहरूमा जति पनि लिप्त भएका हुन्छन् तथा यस्ता कार्यहरू थाहा हुँदाहुँदै पनि सचेतवर्गले आँखा चिम्लेर बस्छन् भने उनीहरु पनि यसको दोषको भागीदार हुनुपर्ने अनि उनीहरुलाई पनि कानुनी कारबाही हुन सक्ने कुरो जनाइन्।

विशेष हाम्रा गाउँ-घरका मानिसहरूलाई यस्ता कानुनी प्रक्रियाहरू बारेमा तथा डिस्ट्रिक्ट लिगल सर्भिस अथोरिटीका क्रियाकलापहरू र उद्देश्यहरू बारेमा जानकारी दिने उद्देश्यले तथा उनीहरूका सुविधाका लागि प्रत्येक थानाहरूमा यस्ता अथोरिटीको शाखाहरु खोलिएको आजको यस कार्यक्रममा पनि सोनादा डिग्री कलेजमा लिगल सर्भिस अथोरिटीको एउटा शाखाको रूपमा लिगल एड क्लिनिक खोलिएकोले बताइन्। उनले अब उसो सोनादा क्षेत्रका मानिसहरुलाई उक्त प्रकारका कानुनी सहयोगहरूको आवश्यक परेमा सोनादा डिग्री कलेजको उक्त लिगल एड क्लिनिकमा सम्पर्क गर्न सक्ने कुरो बताइन्।

कार्यक्रमलाई पीएलभी अनमोल प्रधान अनि प्रीति थापा लगायत कलेजका आइक्यएसीका संयोजिका प्राध्यापक पेन्चुला भोटिया, भारप्राप्त प्राचार्य डा रागिनी थापा, प्राध्यापक सुशीला बराइली आदिले पनि सम्बोधन गरेका थिए। यसरी दार्जिलिङ डिस्ट्रिक्ट लिगल सर्भिस अथोरिटीका सचिव स्वयम् सोनादा डिग्री कलेजमा आई कानुनी सेवा सम्बन्धी यस्ता जनचेतना कार्यक्रम गर्नका साथै कलेजमा लिगल एड क्लिनिक समेत स्थापना गरिदिएकोमा डाक्टर थापाले आभार प्रकट गरिन्।

कार्यक्रममा पीएल भी नरेन्द्र लामा, सबनमअन्सारी, पूजा थापा लगायत कलेजका शिक्षक परिषद्का सचिव डा प्रमोद छेत्री लगायत कलेजका शिक्षण अशिक्षण कर्मीहरू अनि विद्यार्थीहरू उपस्थित थिए। कानुनी सेवा सम्बन्धी विद्यार्थीहरूमाझ अन्तरक्रियात्मक सत्र पनि राखिएको उक्त कार्यक्रमलाई कलेजको वुमन सेलका संयोजिका तथा राजनीति विज्ञान विभागका प्रमुख प्राध्यापक सुशीला बराइलीले सञ्चालन गरेका थिए भनी प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande