मिरिक, 06 मार्च (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको मिरिक भ्रमण आजबाट शुरु भएको छ। भ्रमण अवधि गोजमुमो अध्यक्ष बिमल गुरुङले मिरिक महकुमा क्षेत्रका पार्टी समर्थकहरुसित चर्चा गर्ने तथा पार्टीको रणनीति विषयमा चर्चा परिचर्चा गर्ने बताइएको छ।
यस क्रममा मिरिकमा पत्रकारहरुसितको कुराकानी गर्दै बिमल गुरुङले पहाडमा चलिरहेका विभिन्न मुद्दाहरुमाथि आफ्नो विचार साझा गरे। उनले विशेष गरी हाल धेरैवटा चियाबगानमा 'नो वर्क नो पे' को नोटिस लगाइएको विषयमा चिन्ता व्यक्त गरेका छन्।
गुरुङले चियाबारीमा यस वर्षको पहिलो चियापत्ती टिपाईमा कुनै बाधा हुनु हुँदैन भनी बताएका छन्। वर्षको पहिलो चियापत्ती टिपे मात्र चियाबारी सुचारु चल्न सक्ने मनसाय गुरुङले पोखेका छन्।
यसका साथै, उनले चियाबारीमा अत्यधिक रुपमा राजनीति भइरहेको समेत उल्लेख गरे। सिक्किम बिलयबारे सोधिएको एक प्रश्नको जवाफमा भने गुरुङले आफू विलयको पक्षमा नरहेको धारणा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक