जिल्लास्तरीय क्षयरोग समितिको बैठक सम्पन्न
जिल्लास्तरीय क्षयरोग समितिको बैठक सम्पन्न


गेजिङ, 06 मार्च (हि.स.)। गेजिङ जिल्लाका जिल्लापाल एवं जिल्ला क्षयरोग फोरमका अध्यक्ष तेञ्जिङ डी. डेजोङपाको अध्यक्षतामा आज जिल्लास्तरीय क्षयरोग समितिसँग जिल्ला प्रशासनिक केन्द्रमा एक बैठक बस्यो। यस बैठकको मुख्य उद्देश्य राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्दै जिल्लामा क्षयरोग नियन्त्रण उपायहरूको समीक्षा गर्नु र सुदृढीकरण गर्नु रहेको थियो।

बैठकलाई सम्बोधन गर्दै जिल्लापाल डेञ्जोङपाले क्षयरोग उन्मूलनमा बहु-क्षेत्रीय दृष्टिकोणको महत्त्वमाथि जोड दिँदै सम्बन्धित विभागहरूलाई क्षयरोग उन्मूलनको राष्ट्रिय लक्ष्य हासिल गर्नको निम्ति समन्वय बनाएर काम गर्न आग्रह गरे। उनले क्षयरोग नियन्त्रण पहलहरूको प्रभावकारी कार्यान्वयनको लागि प्रशासनिक सहयोगको आश्वासन दिए भने क्षयरोगमुक्त जिल्ला निर्माण गर्न सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताको निम्ति प्रोत्साहित गरे।

सोही क्रममा डा. स्मृति राईले क्षयरोग उपचार कार्यक्रमको प्रगतिबारेमा विस्तृतरूपमा जानकारी गराइन्। उनले क्षयरोगद्वारा ग्रसित रोगीहरूको स्वास्थ्यमा आएको सुधार र क्षयरोगीहरूको प्रारम्भिक पहिचान, अनुगमन र सहयोग गर्न मान्यता प्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ताहरूको आवश्यक भूमिकामाथि जोड दिइन्। उनले जिल्लामा सफल भएका विभिन्न पहलहरूको बारेमा पनि जानकारी गराइन्।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande